जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ४ गते । सुनसरीमा आगामी फागुन २१ मा हुने निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रियामा तीन हजार ५७९ जनाको माग भएकोमा आठ हजार ४४१ ज्नाको आवेदन परेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचना निकाल्दै माग भन्दा दोब्बर बढीले आवेदन दिएको जनाएको हो ।
प्रतिनिधिसभा चुनावका लागि माग गरिएको निर्वाचन प्रहरीका लागि कुल आठ हजार ४४१ जनाको आवेदन परेको छ । यो माग गरिएभन्दा दोब्बर बढीको आवेदन परेको हो ।
सुनसरीमा तीन हजार ५७९ जना निर्वाचन प्रहरीको कोटा निर्धारण गरिएको छ । सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेबाट माघ १ गते सम्मका लागि दरखास्त आह्वान गरेको थियो ।
तेकिएको अवधिमा आठ हजार ४४१ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
माघ ५ गते देखि ७ सम्म निर्वाचन प्रहरीको भर्ना छनोट सकेर अन्तिम नतिजा प्रकाशन गर्ने तयारी छ । छनौट भएपछि प्रशिक्षण सुरु गर्ने कार्यतालिका रहेको डिएसपी खड्कको भनाइ छ । सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीलाई प्रहरी जवानले पाउने सरहको सेवा सुविधा दिएर ४० दिन कार्यक्षेत्रमा खटाउने जनाएको छ ।