जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ५ गते । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले यहाँका राजनीतिक दलहरुसंग मंगलबारको लागि मनोनय दर्ता र निर्वाचन आचारसंहिता बारे छलफल गरेको छ । सुनसरीको इनरुवा नगरपालिका २ स्थित शिक्षा तालिम केन्द्र परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरुसंग मनोनय दर्ताको समय तालिका र निर्वाचन आचारसंहिता पालनको बारे छलफल गरेको हो । जिल्ला न्यायधिस एवं मुख्य निर्वाचन अधिकृत तथा ४ नम्वर निर्वाचन अधिकृत प्रकाश राउतको अध्यक्षतामा सम्पन्न भएको छलफल कार्यक्रममा दलहरुले निर्वाचन आचारसंहिता सबैले इमान्दारी पूर्वक पालन र कार्यान्वन गर्नुपर्नेमा जोड दिएका छन् । जिल्लाको २, ३ र ४ नम्बर गरी तीनै निर्वाचन अधिकृतहरु र विभिन्न ३० दलका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितीमा भएको कार्यक्रममा सहभागीहरूले आचारसंहितालाई व्यावहारिक र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिदै सबैले आ आफ्नो ठाउँबाट इमान्दारी पूर्वक पालन र कार्यान्वन गर्नुपर्नेमा जोड दिएका हुन् । छलफलमा नेपाली कांग्रेसका सुनसरी सचिव वीरेन्द्र कुमार साहले निर्वाचन आचारसंहिताको पुस्तिका लामो भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुहुदै सुनसरीमा सबै दलले इमान्दारी पूर्वक पालन र सरकारी निकायले नियमन सहितको कार्यान्वन गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमालेका सुनसरी अध्यक्ष पर्शुराम यादवले आचारसंहिताको पालन गर्न एमाले आफ्नो तर्फबाट प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले साउण्ड, बालबालिकाको प्रयोग, जुलुस आमसभामा सवारी साधनको प्रयोग र मौन अवधिमा हुने चलखेल जस्ता विषयलाई व्यावहारिक रूपमा सम्बोधन गर्नुपर्ने सुझाव दिनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका नेतादोय योगेन्द्र मण्डल र गोविन्द निरौजाले निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाधलीरहित र भयरहित बताउन आचारसंहितालाई सबै पक्षले इमान्दारी पूर्वक पालन गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्टिय स्वतन्त्र पार्टीका सभापती सागर दाहालले आफूहरुको पार्टी निर्वाचनलाई मितव्ययी बनाउने, निर्वाचन आयोगको निर्वाचन आचारसंहित पालन गर्न प्रतिवद्ध रहेको बताउनुभयो । नेपाली काग्रेंसका सुनसरी सभापती केदार भण्डारीले चुनाव उत्सव भएकाले हार्ने जित्ने भनदा स्वच्छ प्रतिस्प्रधाको रुपमा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचन आचारसंहितामा डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रयोगलाई कसरी नियमन गर्ने भन्ने विषय स्पष्ट हुनुपर्ने र त्यसमा पनि अनुगमन गर्न आवश्यक भएको बताउनुभयो ।
इन्सेक प्रतिनिधि जयकृष्ण यादवले आचारसंहिता कार्यान्वयनका सिलसिलामा अनुगमन प्रभावकारी हुनुपर्ने, सामाजिक सञ्जालबाट प्रवाह हुने मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रण र नियमनका लागि सबै पक्ष सचेत हुनुपर्ने लगायतका सुझाव दिनुभयो ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य भगिरथ खत्वेले समय बाडेर मनोनय दर्ताको समय छुट्याउदाँ सहज हुने सुझाव दिनुभयो । खत्वेले आफूहरु पार्टी देशको निकाय र आचारसंहित पालन गर्दै आएको र गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उज्यालो नेपालका नेता महेन्द्र यादवले विगतमा ठूला दलहरुले आचारसंहिता उलंघन हुदा पनि कार्वाही नभएकाले यसको पूर्ण कार्यान्वयनमा जोड दिनुभयो ।
छलफलमा सहभागी अन्य दलका प्रतिनिधिहरूले पनि निर्वाचन खर्च, सामाजिक सञ्जालको दुरुपयोग र आचारसंहिताको व्यावहारिक कार्यान्वयनमा निर्वाचन अधिकारीको ध्यानार्कषण गराउनुभएको थियो ।
सहाभागीहरुले मुख्य निर्वाचन अधिकृत , निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखहरुलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र पारदर्शी ढंगले निर्वाचन सम्पन्न गर्न सुझाव दिएका थिए । सहभागी नेताहरुले दलहरूको तर्फबाट आचारसंहिता पालनमा पूर्ण सहयोग हुने प्रतिबद्धता जनाएका थिए ।
छलफलमा भएको सुझावहरुलाई पूर्ण रुपमा स्विकार गर्दै कार्यन्वयन गर्न जिल्लाको चार वटै निर्वाचन अधिकृतको कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा अधिकृतहरु र निर्वाचनमा खटिनेहरु प्रतिवद्ध भएर लाग्ने मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले बताउनुभयो ।
दलहरुलाई उम्मेदबारी दिन के के चाहिने र के के अचारसंहिता पालन गर्नुपर्ने, मनोनयदेखी मतदानसम्म के के गर्न हुने, के के गर्न नहुने र आचारसंहिता कसरी पालन गर्ने बारेमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी गराउनुभएको थियो ।
निर्वाचन सुरक्षा र आचारसंहिता पालनमा प्रशासनको भुमिकाको बारेमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सरोकारबालाहरुलाई जानकारी गराउनुभएको थियो ।
सम्पन्न भएको छलफल कार्यक्रममा क्षेत्र २ निर्वाचन अधिकृत उप सचिव राजेन्द्र कुमार लम्साल, सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवे, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणी पौडेल, प्रमुख सेनानी राजन भुजु, सुनसरी जिल्ला अदालतका श्रेस्तेदार तथा क्षेत्र ४ का सहायक निर्वाचन अधिकृत टिकेन्द्र जग राणा, क्षेत्र २ का सहायक निर्वाचन अधिकृत अरुण कुमार मेहता, इन्सेक प्रतिनिधि जयकृष्ण यादव सहितको सरोकारबालाहरु, राजनीनितक दलका प्रमुख तथा प्रतिनिधिहरु र अधिकारीहरुको उपस्थिति रहेको थियो ।
राप्रपा नेपालका रामविलास मेहताले आचारसंहिता पालनाको अनुगमन संयन्त्रलाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आचारसंहिता उल्लंघन गर्नेलाई कस्तो कारबाही हुन्छ भन्ने स्पष्ट हुनुपर्छ । सजाय विहीन कानुनको कुनै अर्थ हुँदैन ।’
कार्यक्रममा उपस्थित राजनीतिक दलले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न÷गराउन प्रतिबद्ध रहेको बताएका थिए ।


१, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले आयोजना गरेको मनोनय दर्ता र निर्वाचन आचारसंहिता विषयक छलफलका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा