प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले सुनसरीका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार फेरबदल गर्दै अन्तिम नाम सार्वजनिक गरेको छ। पार्टीले तीन दिनभित्र तेस्रो पटक उम्मेदवार परिवर्तन गरेको हो।

सुनसरी क्षेत्र नं. १
यस क्षेत्रमा एमालेले टीकाराम माङ्लेनलाई उम्मेदवार बनाएको छ। माङ्लेन अनेरास्ववियु सुनसरीका पूर्व अध्यक्ष हुन्।

सुनसरी क्षेत्र नं. २
यसअघि रेवतीरमण भण्डारीलाई दिइएको टिकट फिर्ता लिँदै एमालेले पार्टी केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीश कुसियैतलाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा कुसियैत सोही क्षेत्रबाट झिनो मतान्तरले पराजित भएका थिए।

सुनसरी क्षेत्र नं. ३
एमालेले वर्तमान सांसद भगवती चौधरीलाई पुनः उम्मेदवार बनाउने निर्णय गरेको छ। चौधरी २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएकी थिइन्।

सुनसरी क्षेत्र नं. ४
नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका युवा नेता अबुल हुसेन अन्सारीलाई उम्मेदवार बनाइएको छ। अन्सारी कांग्रेस सभापति शेरबहादुर देउवाका निकट मानिँदै आएका थिए।

एमालेले सुनसरीका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम अन्तिम रूप दिइएको जनाएको छ।