जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १० गते । सुनसरीको सदरमुकाम इनरूवा नगरपालिकाको १६ औं नगर सभा तथा अधिवेशन सनिबार सम्पन्न भएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सम्पन्न भएका कामको समीक्षासहित बजेट र कार्यक्रमको संशोधन सहित सुधारका लागि नगर अधिवेशन सम्पन्न गरिएको हो । नगर सभामा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले १५ औं नगर सभा तथा अधिवेशनबाट स्वीकृत बजेट, नीति तथा कार्यक्रमका उपलब्धिहरूको प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा आय ३९ दशमजव ०७ प्रतिशत र व्यय २६.३३ प्रतिशत रहेको छ । नगर सभाले २ वटा विधेयक स्वीकृत गरेको जनाएको छ ।


इनरुवा नगरपालिकाको आर्थिक पहिलो संशोधन विधेयक २०८२ पारित गर्दै पञ्चवटी पार्कमा प्रवेश शुल्क र हलमा प्रवेश शुल्क तथा नगर भेटेरिनरी अस्पतालबाट प्रवाह हुने सेवा दर्ता शुल्कको दर कायम गरेको छ । चालु आर्थिक वर्षबाट सञ्चानमा आएको र हाल निशुल्क प्रवेश पाउदै आएको पञ्चवटी पार्कमा १० रुपियाँ प्रवेश शुल्क र बालबालिका खेल्ने हलमा २० रुपियाँ प्रवेश शुल्क तथा नगर भेटेरिनरी अस्पतालबाट प्रवाह हुने सेवा दर्ता शुल्क हासकुखुराको प्रतिगोटा ५ रुपियाँ र ठूलापशुको १०० रुपियाँ दररेट कायम गरेको छ ।


सम्पन्न भएको सभा प्रस्तुत गरिएको प्रगति प्रतिवेदन अनुसार नगरमा हालसम्म २६ वटा ठूला, मझौला तथा साना योजनाहरुको ठेक्का सम्झौता भइसकेका छन् भने केही कार्य सम्पन्न भएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । उपप्रमुख विनिता मेहता, प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौला वडा अध्यक्ष असोक कुमार साह तेली, अनिल पोखरेल र सदस्यहरू सविना सिंग्देल, रामसुन्दर मेहता लगायतले नगरमा विकासका गतिविधिमा तीव्रता पाएको, भौतिक पूर्वाधार निर्माण सन्तोशजनक रुपमा भएको बताउनुभयो । सहभागीहरुले निर्माणका कामहरु, शिक्षा, स्वास्थ्य र पोलवतीमा काम सहित समग्रमा पारदर्शिता, जवाफदेहिता र कर प्रणाली सुधारको आवश्यकता रहेको सुझाव दिएका थिए ।


इनरुवा नगरपालिका ८ का वडा अध्यक्ष असोक कुमार साह तेलीले नगरको सान र गौरवपूर्ण तथा सफल योजनामा रहेको फोहोरबाट मोहर बनाउने पुनःप्राप्ती स्रोत केन्द्रलाई थप प्रभावकारी बनाउदै प्रचारमा ल्याउन जरुरी रहेको बताउनुभयो ।
इनरुवा ९ का वडा सदस्य रामसुन्दर मेहताले वडाहरुमा हुने विकासमा समानुपातिक, जनसंख्याको आधारमा जनघनत्वको आधारमा गर्न ध्यान दिनुपर्ने बताउनुभयो । इनरुवा ३ का वडा सदस्य सविना सिग्देलले मुख्य राजमार्ग छेउका कवाडी पसलहरु व्यवस्थित गर्नुपर्ने, सबै ठाउँमा पोल वतीको व्यवस्था गर्नुपर्ने, सुनसरी खोला क्षेत्रमा पर्यटन प्रवद्र्धन र खोला नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


इनरुवा १० का वडा अध्यक्ष खलिल मियाँले बबिया–जल्पापुर सडक खण्डको समस्या केही मात्रामा समाधान भएपनि पूर्ण निर्माण र कालोपत्रे गर्न पहल गर्नुपर्ने सुझाव राख्नुभयो ।
यस पटकको नगर अधिवेशन दोस्रो पटक इनरुवा नगरपालिका ८ डुम्राहास्थित श्रोत पुनः प्राप्ति केन्द्र (डम्पिङ साइट)मा आयोजना गरेर नगर सरकारले फोहोर व्यवस्थापनमा गरेको प्रतिवद्धता कार्यान्वयन गरेको सन्देश दिएको इनरुवा ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेलले जानकारी दिनुभयो । यसले डम्पिङ साइटलाई फोहर व्यवस्थापनको प्रभावकारी मोडेलका रूपमा प्रस्तुत गरेको पोखरेलले बताउनुभयो । नगरपालिकाले प्राप्त सुझावहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउँदै सभा सम्पन्न गरेको छ ।
यसअघि नगर सरकारले श्रोत पुनः प्राप्ति केन्द्रबाट निस्कने सामग्री बिक्री सम्बन्धी कार्यविधि, संघ÷संस्था दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि, आर्थिक सहायता कार्यविधि, छात्रवृत्ति वितरण कार्यविधि, सहकारी नियमावली लगायतका कानुनहरू ल्याएका थिए ।