जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ११ गते । सुनसरीको विभिन्न ठाउँबाट ठूलो परिमाणमा लागू औषध बरामद भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नंम्बर ५ नडाहा र धरान उप–महानगरपालिका वडा नंम्बर १७ बाट प्रहरीले ठूलो परिमाणमा लागू औषध बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार प्रहरी चौकी भरोलबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र ५ तिनकुने नडाहाबाट धरानतर्फ जाँदै गरेको को. २१ प. १४९० नम्बरको मोटरसाईकल चेकजाँच गर्दा लागू औषध ट्रमाडोल तीन हजार सात सय तीस क्याप्सुल र नाईट्राजिपाम एक सय पचास ट्याब्लेट बरामद गरेको छ । लागू औषध र मोटरसाईकल सहित मोटरसाईकल चालक जिल्लाको धरान १७ का ३० वर्षीय नबिन तामाङ र पछाडी सवार ३२ वर्षीय प्रेम जोगीलाई समेत नियन्त्रणमा लिएको छ । दुईलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको जनाएको छ ।
उता आईतबार विहानको समयमा जिल्लाको धरान उप–महानगरपालिका वडा नंम्बर १७ बाट लागू औषध ब्राउन सुगर एक सय असी मिलिग्राम, ट्रामाडोल साठी क्यापसुल र स्पास्पेन ५९ ट्याब्लेट फेला परेको छ । लागु औषध सहित केही व्यक्तिहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको जनाएको छ ।