जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १६ गते । सुनसरीको इनरुवामा पण्डित, पुरोहित र यजमानहरूको आचार संहिता कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । सुनसरीको इनरुवा नगरपालिका ५ बलाहामा नगर क्षेत्रका पण्डित, पुरोहित र यजमानहरूको लागि दुई दिवसीय सामूहिक सम्मिलन कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । सनातन संस्कृति संरक्षण परिषदको आयोजनामा पोखरेल सेवा समाजको भवनमा नगर क्षेत्रका पण्डित, पुरोहित र यजमानहरूले आफूहरुको आचार संहिता कडाईका साथ कार्यान्वयन गर्नेमा जोड दिएका हुन् । सनातन संस्कृति, संस्कार र धार्मिक संरक्षणमा लाग्नुभएको पण्डित, पुरोहित र यजमानहरूको लागि प्रशिक्षण सहित अन्तरकृया कार्यक्रममा श्राद्ध विशेषज्ञ कोषराज न्यौपानेले विधि अनुसारको श्राद्ध, कर्मकृया गर्न गराउन आग्रह गर्नुभयो । प्रमुख अथिति समेत रहनुभएका न्यौपानले दुई दिवसीय सामूहिक सम्मिलन कार्यक्रमले १६ वटा संस्कार गर्नेमा एक रुपता ल्याउने बताउनुभयो । उहाँले सनातनि संस्कारहरूमा गर्भाधान, नामकरण, उपनयन, विवाह, निष्क्रमण, वेदारम्भ (गायत्री श्रवण), अग्निपरिग्रह(चतुर्थी), पुंसवन, सिमन्तोन्नयन, अन्नप्रासन्न, चुडाकर्म, समावर्तन, त्रेताग्नि (क्रव्याद्) जातकर्म, कर्णवेध, गोदान सहितको रहेको बताउनुहुदै यसमा कार्यक्रमले एकरुपता ल्याउने बताउनुभयो ।
इनरुवामा एतिहासिक कार्यक्रममा दर्जनौं पण्डित, पुरोहित र यजमानहरूको सामूहिक सहभागितामा कार्यक्रम सुरु भएको आयोजक संस्थाका अध्यक्ष चेतनाथ काफ्लेले जानकारी दिनुभयो । काफ्लेले शुक्रबार सुरु भएको कार्यक्रमले सनिबार पण्डित पुरोहितहरूले पालना गर्नुपर्ने आचार संहिता, सामाजिक रीतिरिवाज, जन्म र मृत्यु संस्कार, कर्मकाण्डीय सुधारका नीतिगत पक्षहरू र सम्मेलनको औचित्य र भविष्यका लागि मार्गदर्शन पारित गर्दै सम्पन्न हुने बताउनुभयो । उहाँले धर्मो रक्षति रक्षित जयतु सनातन धर्म ः मर्म अनुसार २०६६ सालमा गठन भएको सनातन संस्कृति संरक्षण परिषद् र वैदिक कर्मकाण्ड परिषद् इनरुवा नगर समितिको संयुक्त आयोजनामा इनरुवा नगर क्षेत्रका पण्डित, पुरोहित र यजमानहरूको सामूहिक सम्मिलन कार्यक्रम सुरु भएको जानकारी दिनुभयो । इनरुवा नगरस्तरीय पण्डित, पुरोहित तथा यजमान कार्यक्रममा प्रमुख अतिथि कोषराज न्यौपाने, इनरुवा नगर केदार मण्डारी, वडा अध्यक्ष अनिल कुमार पोखरेल, करुणा समाजको एकराज खनाल,माधव प्रसाद सुवेदी,माहानन्द न्यौपाने, पत्रकार जयकृष्ण यादव, पुरहित ज्ञान प्रसाद पाखरेल,उपेन्द्र प्रसाद कोइराला,अच्युत प्रसाद खतिवडा, प्रदीप कोइराला सहितको उपस्थिति रहेको थियो । वक्ताहरूले छलफलमा सनातन संस्कृति संरक्षण परिषद्ले तेस्रो पटक नगरस्तरीय तथा आसपासका क्षेत्रहरूका पण्डित पुरोहित र यजमानहरूको प्रतिनिधिमूलक दुई दिने सम्मेलन उपयोगी भएको बताएका छन् । सनातन संस्कृति र वैदिक कार्यगर्ने गराउने विषयमा विस्तृत छलफल गरेको र छलफलबाट केही लाभ लिने, शास्त्र तथा नीतिगत अनुभव आदानप्रदान गर्ने र आगामी वर्षहरूमा अझ व्यवस्थित तरिकाले यसलाई निरन्तरता दिनेमा जोड दिएका छन् ।
कार्यक्रमले इनरुवा र आसपासका केही विद्वज्जन, धर्मानुरागी, पण्डित, पुरोहित र यजमानहरूसँग सुमधुर सम्बन्ध कायम गरी आपसी सद्भावको विकास गरेको जनाएको छ । वैदिक सनातन धर्मावलम्बीहरूले गृहस्थी आश्रममा बसेर गर्नुपर्ने अनिवार्य कर्म र आचरणहरूको लेखाजोखा गर्ने, कर्म विविधताबिच सामञ्जस्यता कायम गर्न पहल गर्ने र कर्मकाण्डका न्यूनतम् आधारभूत कुराहरूको पहिचान गरी आचारसंहिता निर्धारण गर्ने सहभागी सेमन्त बरालले जानकारी दिनुभयो ।


१, सुनसरीको इनरुवामा पण्डित, पुरोहित र यजमानहरूको लागि दुई दिवसीय सामूहिक सम्मिलन कार्यक्रममा सहभागिहरु
तस्विर ः जयकृष्ण यादव । इनरुवा