जसपा नेपालको उम्मेदवार मेहताले गरे आफ्नो पार्टीको घोषणा पत्र र प्रतिवद्धता पत्र सार्वजनिक
जयकृष्ण यादव। इनरुवा
जनता समाजवादी पार्टी नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्य सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का उमेदवार रामचन्द्र मेहताले आफ्नो पार्टीको घोषणा पत्र र प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ।


उहाँले सोमबार पत्रकार सम्मेलन गरेर स्थानीय प्रतिवद्धता र पार्टीको तर्फबाट केन्द्रीय घोषणा पत्र सार्वजनिक गर्नुभएको हो। मेहताले इनरुवामा पार्टीको चुनाव चिन्ह छाता छाप मा मतदान गर्न आहवान गर्नु हुदै मतदातालाई आफ्नो अमूल्य मत दिई बहुमतले विजयी गराउनु हुन आहवान गर्नु भएको छ ।

मेहताले आफ्नो प्रतिवद्धता पत्रमा किसानहरुलाई सहुलिय दरमा कृषि ऋण उपलब्ध गराउने, सिंचाई, खादमल, विउँबिजन, औषधी र कृषि बजारको व्यवस्थापन गराउने, देशलाई औद्यगीकरणगरि बेरोजगारी र पछौटेपनलाई अन्त्य गर्न, उद्योग, कलकारखाना लगायतका उत्पादन क्षेत्रहरुमा राष्ट्रिय र बैदेशिक पूँजी तथा प्रविधि ल्याउन लगानीमैत्री वातावराणको सिर्जना गर्न निर्वाचनमा होमिएको बताउनु भएको छ।उहाँले प्रत्येक पालिकाहरुमा सुबिधा सम्पन्न प्राथमिक अस्पताल, ग्रामिण सडक, सिंचाई प्रणाली, खानेपानी, उच्च तहको प्राविधिक शिक्षा र नवीकरणिय उर्जा जस्ता पूर्वाधार विकास गराउन र भविष्यको कर्णधार युवा, युवतीलाई सीपमूलक तालिम दिई रोजगारीको ब्यवस्थापन गर्ने, र विदेश पलायनपाट रोक्ने गरी निति बनाउनुका साथै कार्यक्रम र बजेटमार्फत् काम गर्ने योजना सहित आफ्नो स्थानीय प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो। सोही पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टी नेपालले केन्द्रीय घोषणा पत्रको अंश पनि सार्वजनिक गर्नुभएको छ। जसमा पार्टीको तर्फबाट संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वलाई मुख्य चुनावी मुद्दा बनाएको छ।घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्यमा सुधार, तथा योग्यता र अनुभवका आधारमा नियुक्ति गर्ने प्रतिबद्धता जनाइएको छ।प्रदेश र स्थानीय तहमा न्यायोचित स्रोत वितरण, कृषि आधुनिकीकरण, तथा युवा पुस्ताका माग सम्बोधन गर्ने नीति पनि प्रस्तुत गरिएको छ।पार्टीको सुनसरी सचिव सिंघेश्वर मेहताले विभिन्न राजनीतिक दलका उम्मेदवारहरू घोषणापत्रबिना नै प्रचार–प्रसारमा गइरहेका बेला आफ्नो पार्टी जनता समाजवादी पार्टी नेपालले २७ बुँदे चुनावी प्रतिबद्धता ल्याएको जानकारी दिनु भयो। आफ्नो २०७९ को निर्वाचनजस्तै पार्टीले संविधान संशोधनको मुद्दालाई प्राथमिकतामा राखेको छ।‘शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलाई परिवर्तनका साथै राष्ट्रिय समस्याहरूको समाधान गर्न संविधान संशोधन अथवा पुनर्लेखन गरी मुलुकलाई निकास दिनुका साथै राष्ट्रिय जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना’ जसपा नेपालले मतदान दिनुको कारण खुलाएको छ, ‘जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्व हुने गरी संसदीय संरचनाको व्यवस्था गराउन।’जेन-जी आन्दोलनको मागलाई सम्बोधन गराउने र युवा पुस्ताको माग पूरा गर्ने प्रतिबद्धता यसले गरेको छ। ‘जेन-जी (युवा पुस्ता) ले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूलाई सम्बोधन गराउन। भ्रष्टाचारमुक्त समाज निर्माण गर्नका लागि भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता, सुशासन र पारदर्शिताको प्रत्याभूति गराउन,’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘सरकारमा रहेर विगतमा भएका सम्पूर्ण भ्रष्टाचार, भ्रष्टाचारसँग सम्बन्धित विभिन्न काण्डहरूमा छानबिन गरी भ्रष्टाचारीहरूलाई कानुनबमोजिम कारबाही गराउन।’शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको अनियमितता, अन्यौलता र स्तरहिनताको अवस्थालाई अन्त्य गरी सबैका लागि समान एवं विज्ञान र प्रविधियुक्त व्यावसायिक तथा गुणस्तरीय शिक्षासँगै स्वास्थ्य सेवा र रोजगारीको जिम्मेवारी राज्यले नै लिनुपर्ने व्यवस्था गराउन जसपा नेपाललाई मत दिनुपर्ने तर्क पनि यसले प्रस्तुत गरेको छ।‘सरकारले अति गरिब एवं विपन्न वर्ग तथा लोपोन्मुख, सीमान्तकृत दलित र महिलाहरूका लागि छात्रवृत्ति तथा निःशुल्क शिक्षा, प्राविधिक तालिम र रोजगारीको व्यवस्था गराउन।’विगतमा राजनीतिक दलहरूले सरकारका नियुक्तिहरूमा भागबण्डाको आधारमा गलत नियुक्ति गरेको भन्दै यसले योग्यता, क्षमता र अनुभवको आधारमा नियुक्ति गरिने जनाएको छ।‘नेपाल सरकारले गर्ने राजनीतिक नियुक्तिहरूमा दलीय भागबण्डाको अन्त्य गरी योग्यता, क्षमता, अनुभव र योगदानको आधारमा समानुपातिक समावेशी हुने गरी नियुक्ति गरिने व्यवस्था गराउन,’ जसपा नेपालको घोषणापत्रमा भनिएको छ।प्रदेशहरूमा प्रहरी तथा कर्मचारीहरूको समायोजन गरी प्रदेश प्रहरी, प्रदेश कर्मचारी, प्रदेश कानुनलगायतको व्यवस्था गराउन, संगठन, प्रदेश र स्थानीय तहमा जनसंख्या र मानव विकासको सूचकांक मापदण्डका आधारमा विकाससम्बन्धी बजेट, जनशक्ति र अवसर तथा साधन–स्रोतको न्यायोचित वितरणको व्यवस्था गराउने प्रतिबद्धता पनि जसपा नेपालको भनाइ छ।‘वैज्ञानिक भू–उपयोग नीति लागू गरी कृषि क्रान्तिको माध्यमबाट कृषिको व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरण गरी कृषिमा निर्भर गरिब जनताको जीवनस्तरमा सुधार गरी मुलुकलाई विकास, समृद्धि र समुन्नत बनाउन ठोस नीति, कार्यक्रम र योजना निर्माण गरी कार्यान्वयन गराउन,’ यसको भनाइ छ।
