गुडिया तथा कुशन बनाउने तालिम सम्पन्न
जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन ४ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ मा गुडिया तथा कुशन बनाउने तालिम सम्पन्न भएको छ । उधम विकास तथा रोजगार तालिम अन्तर्गत ‘सीप सिकौँ, आत्मनिर्भर र रोजगार बनौँ’ भन्ने मूल नारा सहित महिलाहरूको सीप, क्षमता अभिवृद्धि तथा आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले २१ दिने तालिम सम्पन्न भएको हो ।

घरेलु तथा साना उधोग कार्यालय इटहरीको आयोजना र भोक्राहा नरसिंह गाउँपालिका सुनसरीको समन्वयनमा सम्पन्न भएको थियो । तालिममा गाउँपालिकाका २० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । उक्त तालिममा सहभागी महिलाहरूले विभिन्न डिजाइनका कुशन र गुडिया बनाउने सीप सिकेका प्रशिक्षक समिता घिमिरेले जानकारी दिनुभयो । तालिम अवधिमा महिलाहरूले घरमै उपलब्ध सामग्री प्रयोग गरी कसरी आकर्षक तथा बजारमुखी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा व्यवहारिक ज्ञान हासिल गरेका छन् ।

तालिमले सहभागिको सीप प्रस्फुटन र आत्मनिर्भरता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको उधोग अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो । उक्त तालिम समापन कार्यक्रममा पाण्डेले घरभित्र लुकेर रहेका प्रतिभा र सीपलाई बाहिर ल्याउने प्रयास गरेको तथा रोजगारमा टेवा पुग्ने बताउनुभयो । प्रमुख अथिति तथा भोक्राहा नरसिंह गाउँपालिका १ का वडा अध्यक्ष लक्ष्मण मेहताले सहभागी महिलाहरूले तालिमबाट रोजगारको शिप पाएको बताउनुभयो ।

मेहताले तालिम लिएकाहरुलाई व्यसायिक बनाउन निरव्याजी ऋण, समूह तथा सहकारी गठन तथा बजारिकण गर्न स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तालिममा सहभागी निशा कुमारी मेहताले तालिमबाट आफूहरू आत्मनिर्भर बन्ने बाटोतर्फ अग्रसर भएको महसुस गरेको बताउनुभयो ।

तालिमपछि आवश्यक सामग्री खरिद गर्न सके आयआर्जनका लागि गुडिया र कुशन उत्पादन सुरु गर्न सकिने अर्का सहभागी मनिषा मेहताले विश्वास व्यक्त गर्नुभयो । तालिममा सहभागी प्रनिशा नेपालले आफूहरु विभिन्न डिजाइनमा कुशन र गुडिया बुन्न सिकेको र अब यसलाई व्यवसायिक रूपमा अघि बढाउने बताउनुभयो ।

उहाँले यस्तो उपयोगी तालिम दिएकोमा घरेलु तथा साना उधोग कार्यालय इटहरी र गाउँपालिका तथा वडा कार्यालयलाई धन्यवाद दिदै आगामी दिनमा यस्ता सीपमूलक तालिमहरू अझ विस्तार गर्न सके महिलाहरुलाई लाभ मिल्ने बताउनुभयो । समापन कार्यक्रममा अधिकारकर्मी ममता उराँवले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

पत्रकार जयकृष्ण यादवले रोजगार र स्वरोजगारका लागि तालिम उपयोगी भएकाले सिकेको सिपलाई व्यवहारमा उतार्न सके लैगिक तथा घरेलु हिसाँ न्युनिकरणमा टेवा पुग्ने बताउनुभयो । समापन कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका १ का वडा सचिव शोभानन्द साह, वडा सदस्य अकलदेव मेहता, समाजसेवी शिवनारायण मेहता, अपांगता भएको व्यक्तिहरुको अधिकारकर्मी रामकृष्ण मेहता, प्रशिक्षक समिता घिमिरे, सरिता उराँव सहितकाले गुडिया तथा कुशन बनाउने तालिमको उपयोगिताको बारेमा बोल्नुभएको थियो ।
