जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन ९ गते । सुनसरीका केही निर्वाचित जनप्रतिनिधिहरुले आफ्नै स्थानीय तहमा निर्वाचन आचारसंहिता विपरित भोट माग्दै हिड्नुभएको गुनासो बाहिर आएको छ । निर्वाचन आचारसंहिता २०८२ मा उल्लेख भएअनुसार कुनै पनि निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा भोट माग्न नपाउने भनिएकोमा जिल्लाका धेरै जनप्रतिनिधिहरु निर्वाचन आचारसंहिता विपरित भोट माग्दै हिड्नुभएको छ । जनप्रतिनिधिहरुले मतदातालाई प्रभावित पार्न सक्ने भएकाले निर्वाचन आयोगले ल्याएको निर्वाचन आचारसंहिता विपरित दुहवी नगरपालिका ३ का वडा अध्यक्ष माधव प्रसाद भण्डारीले नेकपा एमालेका उम्मेदबार लागि भोट माग्दै हिड्नुभएको गुनासो बाहिर आएको छ । स्थानीय मतदाताले भण्डारी जनप्रतिनिधि भएर कुनै काम नगरेको र अहिले फेरी प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदबारको पक्षमा मतदान गर्न दबाब दिदै भोट माग्न आएको दावी गरेका छन् । स्थानीयहरुले गरेको गुनासोको विषयमा वडा अध्यक्ष भण्डारीले आफु भोट माग्न नगरेको र एमालेका उम्मेदबार तथा समर्थकलाई गाउँमा निषेध गरेको धम्की आएकाले कुरा बुझ्न मात्रै गएको प्रतिकृया दिनुभयो । यसैबीच भण्डारीले भोट माग्न आएको भन्दै स्थानीयहरुसंग भएको विवादको कुरा र भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।
त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले पनि आफ्नै स्थानीय तहमा मतदातालाई प्रभावित पार्ने गरी भोट माग्नुभएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता विपरित भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष आजादले नेपाली काग्रेंसका उम्मेदबार लागि भोट माग्दै हिड्नुभएको गुनासो बाहिर आएको छ । स्थानीय मतदाता हैदर अलिले आजाद जनप्रतिनिधि भएर गाउँमा कुनै काम नगरेको र अहिले उल्टै फेरी प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष तर्फ नेपाली काग्रेंसका उम्मेदबार ज्ञानेन्द्र बहादुर कार्की र सामानुपातिक तर्फ आजादले आफ्नै दाजु जमिल अख्तर आजादको पक्षमा मतदान गर्न भन्दै घरदैलौमा आएकाले भोट माग्नबाट रोकेको बताउनुभयो ।
निर्वाचन आचारसंहिता अनुगमन समिति र अधिकृतले कुनै चासो नदेखाएपछि निर्वाचन आचारसंहिता विपरित गर्ने आजादलाई स्थानीयले गाउँ प्रवेशमा रोक लगाएका छन् । भोक्राहा नरसिंह ५ का स्थानीय मतदाताले आजाद जनप्रतिनिधि भएर पार्टीको उम्मेदबारको पक्षमा मत माग्नुभएकोले निर्वाचन आचारसंहिताको उलंघन गरेकाले कार्वाही गर्नुपर्ने माग समेत गरेका छन् । जनतलाई गुम्राहामा पार्ने र निर्वाचन आचारसंहिता विपरित भोट माग्दै हिड्नुभएको आजाद माथि कार्बाहीको माग उठेको स्थानीय मोहोसिम अंसारीले जानकारी दिनुभयो ।
स्थानीय एमालेका नेता डा अवुल हुसेन अंसारीले भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तरले काँग्रेसमा भोट माग्दा जनताले दनक दिएको प्रतिकृया दिनुभयो । उहाँले आफ्नो फेसबुकमा भन्नुभएको छ, “गाँउपालिकाको जननिर्वाचित अध्यक्ष अजमल अन्सारीले यसरी जनतालाई तर्साउन मिल्छ ? धम्काउन मिल्छ, जनप्रतिनिधिको यही काम हो ऊ भोट माग्न जान मिल्छ ? जनप्रतिनिधिहरुले यसरी भोट माग्छ निर्वाचितले यो सरासर पदमा बसेर पदको दुरुपयोग हो। ”
यसैबीच निर्वाचन आचारसंहिता विपरित भोट किन माग्नुभएको विषयमा अध्यक्ष आजादलाई उहाँको ९८०४०१२२११ र ९८५२०८८३८० मा फोन सम्र्पक गर्दा स्विच अफ रहेको पाईयो ।