सुनसरी जिल्ला अस्पतालको सेवा सुधारको माग
इनरुवा, चैत २ गते । सुनसरीको इनरुवामा रहेको सुनसरी जिल्ला अस्पतालको सेवा सुधारको माग गर्दै इनरुवा अस्पताल सुधार संघर्ष समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । निरन्तर पाँच वर्षदेखि अस्पातल सेवा सुधारको आवाज उठाइरहेको समितिले जिल्ला अस्पतालको सेवा सुधारदेखी भौतिक पूर्वाधारको व्यवस्था र विरामीलाई बस्ने ठाउँदेखी ल्यावसम्मको सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । केही समययता अस्पतालमा विभिन्न कमीकमजोरीहरू, सेवा सुविधाहरूको सम्बन्धमा नागरिकहरूको गुनासो बढेकाले अस्पताल सुधार संघर्ष समितिले सोही सवाल र मागहरु राखेर सोमबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अमरेन्द्र कुशवाहालाई ध्यानाकर्षण पत्र बुझाएको समितिका संयोजक दिलिपचन साहुले जानकारी दिनुभयो । साहुले मेसु, प्रशासन र अस्पताल विकास समितिका अध्यक्ष राजन मेहतासँग छलफल र अन्तरक्रिया गर्दै ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिनुभयो । साहुले अस्पातलको सेवासुविधाको सम्बन्धमा देखिएको समस्याहरू, गुनासोहरू, अस्पताल प्रशासनले ध्यान दिनुपर्ने कुराहरुको सुझावहरू सहित अन्तरक्रिया गर्दै ध्यानाकर्षण पत्र बुझाएको बताउनुभयो । ध्यानाकर्षण पत्रमा अस्पतालको समग्र विकास, सेवा तथा सुधारमा सुधार हुनुपर्ने, अस्पातलमा बिरामी, कुरुवा र नागरिक समाजमैत्री सेवा हुनुपर्ने, ल्याव नियमित सञ्चालन, ब्लड बैंक, आईसीयु, भेन्टिलेटर र सीटीस्कयान सेवा सुचारु गर्नुपर्ने सहितका ३४ बुदें मागहरु राखिएको छ ।
त्यसैगरी एआरभी एन्टिरेविज भ्याक्सिनको व्यवस्था गर्नुपर्ने, ओपीडी सेवा सरल गर्नुपर्ने ,जीर्ण भवन तथा उपकरणहरुको व्यवस्थापन गर्नुपर्ने, उद्घाटन गरिएको नयाँ वार्ड अविलम्व संचालन गर्नुपर्ने, युएसजी सेवा विहान ८ः०० बजेदेखि साँझ ५ः०० बजेसम्मको लागि संचालनको व्यवस्था मिलाउनुपर्ने, अस्पताल फार्मेसीमा विमा वापत प्राप्त गर्ने औषधी पर्याप्त मात्रामा राख्नुपर्ने, छाडा कुकुरको विगविगी देखिएकोले सो को व्यवस्थापन गर्नुपर्ने , अस्पताल परिसरको सरसफाई, फोहोरमैलाको उचित व्यवस्थापन, शान्ती सुरक्षा, अस्पतालमा कम्पाउण्ड वाल लगाउनुपर्ने, समान तहको कर्मचारीहरुलाई समान तलवको व्यवस्था गर्नुपर्ने लगायतको माग राखेको छ ।
त्यसैगरी विशेषज्ञ डाक्टरहरुको व्यवस्था गर्नुपर्ने र भएको विशेषज्ञ डाक्टरहरुको आवास, भत्ताको व्यवस्था र समयमा तलव दिनुपर्नेका साथै सुरक्षाको प्रत्याभूति दिनुपर्ने, ईमरजेन्सीमा २४ सै घण्टा डाक्टरहरु बस्नुपर्ने , हाडजोर्नीका बिरामीहरुलाई चाहिने स्टीलहरु, धागो, अन्य सामग्रीहरु बिरामीले नै खरिद गर्नुपर्ने ठाउँमा डाक्टरहरुले फलानो फार्मेसीबाट, डाक्टर आफैले लिएर आउने र पैसा तिर्न लगाउने कार्यको रोक लगाउनुपर्ने, अस्पतालको सामाजिक लेखा परीक्षण गर्नुपर्ने, डेलिभरी केस लगायत अन्य बिरामीहरुलाई गरिने रेफर बन्द गरिनुपर्ने, अविलम्व ईमरजेन्सी ल्याव संचालन गर्नुपर्ने, आँखा विभागमा औषधी र चश्मा बिरामीहरुलाई उपलब्ध गराउनुपर्ने माग राखेको छ ।
पत्रमा फार्मेसी लगायत अन्य विभागहरुमा नियुक्ती नभएको व्यक्ति जागिर खाइरहेकोले तिनीहरुलाई हटाउनुपर्ने, वार्ड प्रभावकारी रुपमा संचालन गर्न आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुपर्ने, क्यान्टिन अगाडिको शौचालय सेवाग्राहीहरुलाई प्रयोगमा दिनुपर्ने, चेन अफ कमाण्ड नमान्ने कर्मचारीहरु लगायत सेवाग्राहीहरुसँग तुच्छ व्यवहार गर्ने कर्मचारीहरुलाई कारवाही गर्नुपर्ने, पार्किङ्ग व्यवस्थित गर्नुपर्ने , अशक्त, ज्येष्ठ नागरिकहरुलाई विशेष सेवा सुविधा हुनुपर्ने र अस्पतालको अतिक्रमित जग्गा खाली गराउनुपर्ने माग राखेको छ । माग,सल्लाह र सुझावहरु १५ दिनभित्र पुरा गर्नको निम्ति आग्रह गरेको र पुरा नभए वा अन्यथा भए अस्पताल प्रशासन विरुद्ध संघर्षका कार्यक्रमहरु गर्न वाध्य हुने चेतावनी समेत दिएको साहुले बताउनुभयो । अस्पताल विकास समिति अध्यक्ष राजन मेहताले जायज मागहरु सात भित्रै सम्बोधन गर्ने र सेवा सुधार गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मेहताले जनताको स्वास्थ्य सेवा प्रति आफु गम्भिर रहेकाले तत्काल गर्न सक्ने आजैबाट सुधार हुने, केही समय लाग्नेको अल्पकालीन र दिर्घकालिन सामाधान गर्ने गरी माग सम्बोधन गर्ने बताउनुभयो ।


१, सुनसरी जिल्ला अस्पतालको सेवा सुधारको माग गर्दै इनरुवा अस्पताल सुधार संघर्ष समितिले ध्यानाकर्षण पत्र बुझाएपछि सरोकारबालाहरु बीचमा छलफल गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
