जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ २० गते । सुनसरीबाट नेपाली काग्रेंसका तर्फबाट चार संघीय प्रतिनिधि सभा र आठ प्रदेश सभा सदस्यका लागि तीन सय जनाको नाम सिफारिस गरिएको छ । पार्टीले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रदेश सभा क्षेत्रीय कार्य समितिले सम्बन्धित क्षेत्रका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठक राखेर उम्मेदवारको नाम सिफारिस गर्न दिएको निर्देशनका आधारमा जिल्लाबाट प्रत्यक्ष र समानुपातिक गरि झण्डै ३०० जनाको नाम सिफारिस भएको पार्टीका जिल्ला सचिव विरेन्द्र साहले जानकारी दिनुभयो ।
साहका अनुसार प्रतिनिधि सभामा निर्वाचन क्षेत्र १ का मिन बहादुर विश्वकर्मा, लक्ष्मी खतिवडा, उमेश थापा, मिना सुब्बा, चन्द्र प्रसाद श्रेष्ठको नाम सिफासिर भएको छ । प्रतिनिधि सभामा निर्वाचन क्षेत्र २ का राजिव कोईराला, राजिव ढुगांना र सिताराम मेहताको नाम सिफासिर भएको छ । निर्वाचन क्षेत्र ३ बाट पूर्व उपप्रधामन्त्री समेत रहनुभएका विजयी कुमार गच्छदार र निर्वाचन क्षेत्र ४ बाट सूचना तथा सञ्चार प्रविधि मन्त्री समेत रहनुभएका ज्ञानेन्द्र बहादुर कार्कीको नाम सिफासिर भएको पार्टी सचिव साहले जानकारी दिनुभयो । त्यसैगरी यहाँका आठ प्रदेश सभा सदस्यका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट सातदेखी २१ जनासम्मको नाम सिफारिस गरिएको छ ।
समानुपातिकमा भने प्रत्येक क्षेत्रबाट कममा दुई जना र बढीमा सात जनासम्मको नाम सिफारिस भएको पार्टीले जनाएको छ । कांग्रेसको विधान बमोजिम प्रत्यक्षतर्फ सहमति नभए बहुमतको प्रक्रियाबाट बढीमा तीन जना र समानुपातिकतर्फ बढीमा दुई जनाको नाममा निर्णय गरी सिफारिस गर्न निर्देशन गरेकामो सोही अनुसार क्षेत्रिय समितिहरूहुदै सोमबार केन्द्रमा पठाइएको साहले जानकारी दिनुभयो ।
सिफारिसमा परेकाहरुले भने केही भाट माग्न र कोहीले टिकटकै लागि अझै लविन सुरु गरेको बताइएको छ । विधानबमोजिम कांग्रेसको केन्द्रीय संसदीय समितिले उम्मेदवारको चयन गरी मनोनयन दर्ता गराउने व्यवस्था रहेको पार्टीले जनाएको छ ।
उता सुनसरीको निर्वाचन क्षेत्र नम्बर १,४ र ३ मा नेकपा एमालेले एकल उम्मेदबारको नाम सिफारिस गरेको छ । पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट जयकुमार राई र निर्वाचन क्षेत्र नम्बर ३ बाट भगवती चौधरीको नाम सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नम्बर ४ बाट जगदिश प्रसाद कुसियैतको नाम सिफारिस गरेको छ भने निर्वाचन क्षेत्र नम्बर २ बाट भिम प्रसाद आचार्य र रेवति रमण भण्डारीको नाम सिफारिस गर्ने भएको पार्टी स्रोतले जनाएको छ ।
त्यस्तै सुनसरी क्षेत्र नंम्बर २ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रदेश सभा सदस्यको लागि सर्वसम्मतबाट राम प्रसाद मेहताको नाम सिफारिस गरिको पार्टीले जनाएको छ ।