जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत ३ गते । सुनसरीमा सोमबार राती आएको हावाहुरीसहितको असिनापानीले मकैं र गहुँ बाली तथा तरकारी बालीमा क्षती भएको छ । हावाहुरी सहित असिनापानीले मकैं, गहुँ सहितको खाद्यान्न तथा तरकारी बालीमा क्षती हुँदा जिल्ला सदरमुकाम इनरुवा सहित दक्षिण क्षेत्रका किसानहरु चिन्तित बानेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा आईतबार दिउसो मात्र परेको असिनापानीले केही क्षती भएकोमा सोमबार राती दक्षिणवर्ती क्षेत्रमा समेत असिनापानी परेकाले यहाँका किसानको मकै, गहुँ, खेसरी, मसुरो र तरकारी बालीमा क्षति गरेकाले किसान चिन्तित बनेका स्थानीय किसान सम्भु यादवले बताउनुभयो । असिनापानीले विशेषगरी सदरमुकाम इनरुवाको बबिया, जल्पापुर, मधेसा र हरिनगर गाउँपालिकाको रामनगर भुटाहा, बसन्तपुर र देवानगञ्ज गाउँपालिकाका विभिन्न वडामा लगाइएका मकैं तथा गहुँ बालीनाली नष्ट भएको यादवले जानकारी दिनुभयो ।
इनरुवा नगरपालिका–९ बबियाका किसान जसलाल यादवको डेठ बिघा जमिनमा लगाएको मकैमा आसिंक क्षती भएको छ भने शिवनारायाण यादवको दुई विघाको मकैं बाली पूर्णरुपमा सखाप भएको छ । यस्तै, बबियाका किसान सत्रुघन यादवको दश कठ्ठा जमिनमा लगाएको गहुँबाली , विधानन्द यादवको मकैं, तरकारी र प्याज पनि सखाप भएको छ । धेरै मेहनत गरेर रोपेको लसुन प्याज एक घण्टाकै हावाहुरीसहितको असिनापानीले सखाप भएपछि चिन्ता परेको उहाँले बताउनुभयो ।
यस्तै, रामधुनी नगरपालिका–८ का किसान भागवत ठाकुर सहितका धेरै किसानका जमिनको मकै र गहुँ पूर्णरुपमा नष्ट भएको छ । सो क्षेत्रमा व्यावसायिक रुपमा तथा करेसाबालीमा लगाएको तरकारी बाली समेत नष्ट भएको इनरुवा ९ का किसान बुद्धीलाल मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार बबिया क्षेत्रमा मात्रै करिब एक हजार बिघा जमिनमा लगाएको गहुँ र मकैबाली नष्ट भएको छ । मकैं, गहुँबाली र तरकारी बालीमा पनि ठुलो क्षति पुगेको छ ।


यता, इनरुवा नगरपालिका ९ का किसान उपेन्द्र यादवले पनि आफ्नो मकैंमा ठूलो क्षती भएको गुनासो गर्नुभएको छ । इनरुवा कृषि शाखाका कृषि विकाश अधिकृत कुवेर निरौलाले पालिकाभित्र रहेको खेतीयोग्य जमिनको करिब ६० प्रतिशत भूभागमा मकैखेती गरिएको र ३० प्रतिशत जमिनमा गहुँ र बाँकीमा तरकारी र दलहन खेती भएकोमा केहीमा क्षती भएको तर एकिन विवरण थाहा नभएको बताउनुभयो । उहाँका अनुसार असिनाका कारण धानचमर निस्किएको र सुत्ला च्यापेका मकै पूर्णरुपमा नष्ट भएको छ । बाला लागेका र बाला निस्किन लागेको गहुँबाली समेत क्षती भएको छ । लहरा तथा तरकारी बालीमा पनि क्षति गरेको निरौलाको भनाई छ ।


१, हावाहुरीसहितको असिनापानीले क्षती भएको सुनसरीको इनरुवा ९ बबियाका किसानले लगाएको मकैं बाली


२, असिना र हावाहुरीmे क्षती भएको गहुँ बाली ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा