जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत ३ गते । सुनसरीबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १३ हजार ९७८ जना विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र सात हजार ४३ जना र छात्रा ६ हजार ९३५ जना गरी १३ हजार ९७८ जना विद्यार्थीहरू सहभागी हुने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सुनसरीले जनाएको छ । परीक्षार्थीहरुका लागि जिल्लाभर ५० वटा परीक्षा केन्द्र तोकिएको समन्वय इकाई प्रमुख देवेन्द्र मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार सुनसरीबाट गत वर्ष छात्र सात हजार १४ जना र छात्रा ६ हजार ४९ जना गरी कुल १३ हजार ६६३ जना एसईई परीक्षामा सहभागी भएकोमा यसवर्ष गत वर्षको परीक्षामा भन्दा ३२४ जना परीक्षार्थी बढीले परीक्षा दिनेछ ।
चैत १९ गतेबाट सञ्चालन हुने एसईई परीक्षाका लागि सुनसरीमा सामुदायिक र संस्थागत गरी कुल ३२१ विद्यालयका परीक्षार्थीहरू सहभागी हुँदैछन् । ती मध्ये ७ धार्मिक विद्यालय, २ विशेष विद्यालय गरी कुल ११७ सामुदायिक विद्यालय छन भने संस्थागततर्फ कुल २०४ विद्यालय रहेका छन् ।

सुनसरीका १२ वटा स्थानीय तहमा ५० परीक्षा केन्द्र तोकिएको छ । जसमा धरानमा १०, इटहरीमा ११, ईनरुवामा ६, कोशी गाँउपालिकामा २, दुहवी नगरपालिकामा ३, देवानगन्ज गाउपालिकामा १, बराहक्षेत्र नगरपालिकामा ७, बर्जु गाउपालिकामा ३, भोक्राह नरसिंह गाउपालिकामा १, रामधुनी नगरपालिकामा ३ र हरिनगर गाउँपालिकामा २ वटा परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा केन्द्रहरूमा जनशक्तिका रुपमा ५० केन्द्राध्यक्ष, ८९ सहायक केन्द्राध्यक्ष, ६८० निरीक्षक, १ सय ३५ परीक्षा सहायक, २७१ कार्यालय सहयोगी खटिने परीक्षा समितिले जनाएको छ । परीक्षा व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्ने तयारी भएको छ । साथै, परीक्षा व्यवस्थापनका लागि अनुगमन, सुरक्षा र आवश्यक तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जानकारी दिएको छ ।