आगामी वैशाख २ गतेदेखि देशैभरबाट आर्थिक गणना सुरु हुने
सुनसरीमा आगामी वैशाख २ गतेदेखि देशैभरबाट एकै पटक दोस्रो राष्ट्रिय आर्थिक गाणना सुरु गर्ने तयारी भएको छ । नेपाल सरकारले गर्ने आर्थिक गणनाको कार्यक्रम सुनसरीमा पनि एक साथ गर्ने तयारी भएको जानकारी दिएको छ । आर्थिक गणनाको उद्देश्य र तयारीका बारेमा जानकारी दिन विहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा गरेको अन्तरक्रियामा गणनाका लागि गणकहरू जिल्लाभरका घरघर पुग्ने जानकारी दिएको छ । जिल्लाभरका उद्योग, प्रतिष्ठान, पसलहरूको आधारभूत विवरणहरू संकलन गरी तथ्यांक प्रकाशन गर्ने उद्देश्यले गणना हुने बताइएको छ । गणनाको नतिजाले देशको आर्थिक र अन्य सामाजिक नीति निर्माण, योजना तर्जुमा र लक्ष्य निर्धारण तथा प्रगति मापनमा सहयोग पुग्ने जनाएको छ । गणनाका क्रममा वस्तु वा सेवा उत्पादन गर्नेहरूको विवरण संकलन हुनेछ ।

कार्यक्रममा सुनसरीका जिल्ला आर्थिक गणना अधिकारीले सुनसरीमा आर्थिक गणनाको तयारी पुरा भएको जानकारी दिनुभयो । २०८३ को बैशाख २ देखि असार ७ गतेसम्म तथ्याङ्क संकलन गरिने र त्यसका १८ जना सुपरिवेक्षक र १३९ गणक फिल्डमा खटिने भएको छ ।

कार्यक्रममा प्रमुख अथिति राजन मेहताले विद्यमान संरचना, आर्थिक क्षेत्र, लगानी तथा वितरण सम्बन्धी तथ्याङ्क उत्पादन गरी प्रकाशित गर्ने र सरकारलाई नियमित रूपमा उपयोगी तथ्याङ्क उपलब्ध गराउने भएकाले राष्ट्रिय आर्थिक गाणनामा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले गणनाको क्रममा सहयोग गर्न सम्पूर्णसँग अनुरोध गर्नुभयो ।

