दलितमाथि विभेदको अवस्था र मानव अधिकार रक्षक सञ्जालको भूमिका“ विषयक छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश र दलित महिला संघ (फेडो)को संयुक्त आयोजनामा विराटनगरमा चैत २१ गते भएको “दलितमाथि विभेदको अवस्था र मानव अधिकार रक्षक सञ्जालको भूमिका“ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलले समाजमा विभेदका घटना कायम रहेकाले मानव अधिकार रक्षकहरुको भूमिकालाई थप सशक्त बनाउनुपर्ने बताउनु भएको छ । समाजमा विभेदका घटनाहरु रहेसम्म मानवअधिकार हननका घटना हुने भएकाले मानव अधिकार रक्षकको भूमिका सशक्त बनाउनु पर्ने उहाँले बताउनु भएको हो ।

राष्ट्रिय जनगणनाको तथ्याङ्क विश्लेषणले देखाएको जातिभेद, लिङ्गभेदको सवाल साझा विषय भएकोले मानव अधिकार रक्षकहरुले राज्यलाई कानुन र नीति निर्माण गर्न, बजेटको व्यवस्था गर्न, स्पष्ट संरचना खडा गर्न र समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न पहल गर्नुपर्ने बताउनु भयो ।
राष्ट्रिय जनगणना २०७८ का आधारमा आर्थिक, सामाजिक र जनसाङ्ख्यिक अवस्थाको तुलनात्मक विश्लेषण गर्नुहुँदै फेडोका कार्यक्रम संयोजक नरबहादुर आउजीले निश्चित समुदाय पछाडि रहेकाले समग्र मुलुक र अन्य समुदायको प्रगति र समृद्धिको यात्रा पनि प्रभावित बनेको बताउनु भयो । आउजीले असमानता र विभेद बढी भए समृद्धि र विकासको गति कमजोर हुने बताउनु भएको छ ।
इन्सेक कोशी प्रदेशका संयोजक पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेकद्वारा गठित कोशी प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बास्कोटाले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पानुभएको थियो । फेडो मोरङका अध्यक्ष शर्मिला परियारले स्वागत गर्नुभएको कार्यक्रममा सञ्जालका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।


कोशी प्रदेश कार्यालय
