जयकृष्ण यादव । इनरुवा
इनरुवा,चैत ३० गते । सुनसरीका सरोकारबालाहरुले सुर्तिजन्य र लागु पदार्थ दुव्र्यसन रोक्नुपर्नेमा जोड दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीमा भएको सामुदायिक प्रहरी साझेदारी जिल्ला समितिको बैठकमा सरोकारबालाहरुले अपराधदेखी असुरक्षासम्ममा सुर्तिजन्य र लागु पदार्थ दुव्र्यसन नै कारक रहेकाले यसलाई रोक्नुपर्नेमा जोड दिएका हुन् । जिल्लाका सरोकारबालाहरुले सुर्तिजन्य पदार्थबाट दुव्र्यसनमा फस्ने र विस्तारै लागु औषध तथा पदार्थ दुव्र्यसनमा लाग्ने र सोही कारणले अपराधिक घटनामा संलग्न हुने, अशान्ती मच्चाउने, होहल्ला, कुटपीट र चोरी

सम्मको घटनामा लाग्ने भएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिएका प्रहरी निरीक्षक शारदा उप्रेतीले जानकारी दिनुभयो । उप्रेतीका अनुसार दुई दर्जन बढी सरोकारबालाहरुले शैक्षिक संस्थाको आसपास क्षेत्रमा सुर्तिजन्य पदार्थ र लागु पदार्थ ओसारपसार, खरिदविक्रि पूर्ण रुपमा बन्द गर्नुपर्नेमा जोड दिएका छन् । बैठकमा समाजसेवी सुरेश शर्माले १८ वर्ष मुनीका बालबालिकाहरुलाई कुनै पनि वाहानामा सुर्तिजन्य र लागु पदार्थ विक्रि गर्न नहुने, ठूला उमेर समूहका लाई पनि अभिलेख राखेर मात्रै खरिदविक्रि गर्न सकेको खण्डमा मात्रै बढ्दो दुव्र्यसन रोक्नुसक्ने भएकाले त्यसमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । शर्माले सुर्तिजन्य र लागु पदार्थको सेवन र दुव्र्यसनले विरामी भएपछि उपचारका लागि खर्च गर्नुभन्दा मानव स्वास्थ्यमा असर पार्ने र सामाजलाई नै असुरक्षित बनाउने सुर्तिजन्य, मदिरा र लागु औषध स्रोतमै रोक्नुपर्ने बताउनुभयो । महिला अधिकारकर्मी सहजादी प्रविण र कविता मण्डलले समेत खुल्ला सीमाका कारणले बढ्दो लागु औषधको कारोबार र सेवन तथा अभिभावकबाट बालबालिकाहरुले सिक्ने सुर्तिजन्य वदार्थ ओसारपसार र खरिदविक्रिमा कडाई गर्नुपर्ने बताउनुभयो । मानवअधिकारकर्मी रमेश भट्टराईले सुर्तिजन्य पदार्थ, मदिरा र लागू औषध कारोवार खुल्ला रुपमा भइरहेकाले त्यसको असर बालबालिकाहरुमा परेकाले सचेतनाका कार्यक्रम प्रभावकारी रुपमा चलाउनुपर्ने बताउनुभयो । प्रहरीको तथ्यांकका अनुसार चालु आर्थिक वर्षमा लागु औषध ट्रामाडोल ट्याब्लेट र स्पास्पेन क्याप्सुल, ब्राउन सुगर तथा गाजाँ सहितको १५ हजार बढी केजी फेला पारेको छ । यही तथ्यांकले पनि अवस्था भ्यावह रहेको देखाएकाले रोकथाम र नियन्त्रणका लागि नागरिक समाज, प्रहरी र सरोकारबालाहरु बीचमा हातेमालो आवश्यक भएको सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवेले बताउनुभयो ।