जयकृष्ण यादव। इनरुवा
इनरुवा, वैशाख १ गते । वि.सं. वैशाख १ गते २०८३ सालको पहिलो दिन अर्थात् नयाँ वर्षसँगै सुनसरीको विभिन्न गाउँठाउँमा सिरुवा र जुडशीतल पर्व मनाइँदै छ । मधेशी मैथिली तथा थारु आदिसावीहरुले नयाँ वर्षको पहिलो दिनदेखि तीन दिनसम्म सिरुवा पर्व मनाइरहेको छ ।

हर्षोल्लासका साथ एकअर्कामा शुभकामना साटासाट गरेर जुडसितल मनाइरहेका छन्। जुडसितल र नयां वर्षसंगै सुनसरी सदरमुकाम इनरुवाको विभिन्न स्थानमा सिरुवा मेला लागेको छ । सुनसरीको भोक्राहा नरसिंह र कोशी गाउँपालिकाको सिमानामा रहेको सलहेस थानमा मौलिक र रमाइलो सांस्कृतिक कार्यक्रमसहित धूमधामका साथ सिरुवा मेला लागेको स्थानीय शिक्षक विष्णुदेव  यादवले जानकारी दिनुभयो ।


पहिलो दिनलाई थारुहरूले जुडशीतल भन्ने गरेका छन् । खासगरी जिल्लाका मधेशी, थारु आदिवासीहरूमा नयाँ वर्षको अवसरमा सिरुवा पर्व मनाउने प्रचलन छ । थारु समुदायले मनाउने सिरुवा (धाम पावन) पर्व पछिल्लो समय अन्य समुदायले समेत मनाउँदै आएका छन् । तर पर्वको व्यापकता र रौनक बढे पनि सिरुवासँग जोडिएका ग्रामथान र सांस्कृतिक पक्ष भने मासिएर जाने अवस्थामा पुगेका छन् ।
ज्येष्ठ सदस्यबाट कनिष्ठ सदस्यहरूलाई शिरमा पानी छयापेर जुडशीतल


सुनसरीको सदरमुकाम इनरुवासहित ग्रामीण क्षेत्रमा मधेशी समदायमा नयाँ वर्षको एकाबिहानै ज्येष्ठ सदस्यहरूले घरका कनिष्ठ सदस्यहरूलाई टाउकोमा (शिर) मा पानी छयापेर जुडसितल मनाएका छन् ।
घरका जेठा व्यक्तिले आफ्ना गृहदेवता, ग्रामदेवता, सलहेस थान, मन्दिरमा  र अन्य देवताहरूमा पवित्र जल चढाई अन्य कुटुम्ब तथा आफूभन्दा सानालाई पनि जलले टाउकोमा थपथपाई आशीर्वाद दिने र सानाले ठुलालाई खुट्टामा जल चढाई ढोग्ने गरेका छन् । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई यहाँ नयाँ वर्षका रूपमा मनाइन्छ भने थारु समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेका छन् । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ ।
जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ । देवतालाई जल चढाउँदा वर्षभरिको समय सुखद रहोस् भन्ने कामना गरिन्छ। सिरुवा प्रकृतिसँग जोडिएको लोकपर्व भएकाले घर वरिपरि रहेका रुखका जराहरूमा पानी हाल्ने, सडक र घर आसपासमा पानी छर्कने, कुवा र पोखरीहरू सफा गर्ने लगायतका प्रचलन पनि छन् ।
शिरमा पानी छ्याप्नाले वर्षभरी नै आनन्दन, शीतलता र सफलता मिल्ने जनविश्वासका साथ प्रत्येक घरका ज्येष्ठ सदस्यहरूले छोरा, छोरी, बुहारी, नातीनातीनी, भाइ भतिजोसहितका कनिष्ठ सदस्यहरूलाई शिरमा पानी छ्यापेर जुडसितल पर्व मनाएका छन् । स्थानीय पण्डित वासुदेव यादवका अनुसार ज्येष्ठ सदस्यहरूले कनिष्ठ सदस्यहरूलाई शिरमा पानी छ्यापेर आर्सीवाद दिँदै सुस्वास्थ्य, दीर्घायु, आरोग्य र समृद्धिको कामनासहित जुडशीतल मनाएका छन् भने कनिष्ठ सदस्यहरूले ज्येष्ठ सदस्यहरुको खुट्टामा ढोग्ने, पानी राख्ने गरेका छन् । यसले सम्बन्धमा समेत प्रगाढता ल्याउने गरेको यादवको भनाइ छ ।
शास्त्री कुञ्जीलाल मेहताले गाउँगाउँमा सिरुवाको अवसरमा ज्येष्ठहरूले कनिष्ठ सदस्यहरूको शिरमा र कनिष्ठ सदस्यहरूले ज्येष्ठ सदस्यहरूको खुट्टामा पानी छ्यापेर जुडसितल मनाएको जानकारी दिनुभयो । ज्येष्ठ सदस्यबाट कनिष्ठ सदस्यहरूलाई शिरमा पानी छ्यापेर जुडसितल भन्दै आफ्नो घरमा बनाएको मिठोमसिनो खानका लागि समेत निम्तो गर्ने र बिहान खाना खुवाउने चलन समेत रहेको छ । पछिल्लाे समय एका सगोलमा खाना खाने र खुवाउने गरेको भएपनि विगतको जस्तो गाउँभरिका स्थानीयहरूले एकले अर्काको घरमा गएर ज्येष्ठ सदस्यबाट शिरमा पानी छ्यापेर जुडशीतलको मान राख्न खाने र खुवाउने संस्कार लोपोन्मुख अवस्थामा पुगेको पण्डित बलराम यादवले बताउनुभयो । 
सिरुवाको धार्मिक तथा सांस्कृतिक पक्ष लोपोन्मुख अवस्थामा
सुनसरीमा सलहेस, डिहबार थान, राजाजी थान सहित थारु समुदायको ग्रामथान, मुसहरहरूको दिनाभद्री थान, खत्वेहरुको सेशराज महराज थान सहितको धार्मिक तथा सांस्कृतिक अतिक्रमणका कारण सिरुवामा रौनक घट्दो क्रममा रहेको छ । जिल्लामा कतिपय सिरुवासँग जोडिएका सांस्कृतिक पक्ष लोप भएर गएका छन् । दिन दिनै बढ्दो मानवीय अतिक्रमणले बाँकी रहेका सांस्कृतिक पक्ष पनि लोप भएर जाने अवस्थामा पुगेका वृद्धाहरूले गुनासो गरेका छन् ।
थारुहरूको बसोबास रहेको प्रत्येक गाउँभन्दा दक्षिण पट्टी ग्रामथान रहेको हुन्छ । प्रकृति पूजक पूर्वका थारुहरू जन्मदेखि मृत्यु सम्मका संस्कारमा ग्रामथानमा पूजा गर्न जान्छन् । जन्म, विवाह, मृत्यु जस्ता कार्यहरूका लागि उनीहरूलाई ग्रामथान आवश्यक पर्छ ।
थारुहरूले कुनै सङ्कट पर्दा पनि ग्रामथानमा गएर पूजा अर्चना गर्ने गर्छन् । विभिन्न पर्व र उत्सवहरूमा पनि ग्रामथानमा गएर पूजा गर्ने चलन रहेको छ । थारुहरूले ग्रामथानलाई देवस्थलको रूपमा मान्ने गरेको थारुहरूको जातीय संस्था थारु कल्याण कारणी सभाका रोहित चौधरी बताउनुहुन्छ ।
चौधरीका अनुसार कतिपय स्थानमा ग्रामथानको नाममा धनी पुर्जा नहुँदा थारु समुदायको आस्थाको केन्द्र ग्रामथान भने अहिले सङ्कटमा परेका छन् । ग्रामथानको जग्गा हडप्दा अहिले थारु समुदायको सांस्कृतिक कार्यक्रम गर्न समेत समस्या छ ।
ग्रामथान संरक्षण समिति सुनसरीका अनुसार सुनसरीभरी ६ सयभन्दा बढी ग्रामथान रहेका छन् । परापूर्व कालबाट पूजाआजा भएका ग्रामथानमध्ये अहिले आधाभन्दा बढी ग्रामथानको भूमि नै अस्तित्वमा नरहेको संरक्षण समितिका अध्यक्ष तेजनारायण चौधरी बताउनुभयो । बाँकी रहेका ग्रामथानमध्ये पनि ८० प्रतिशत ग्रामथान अति सङ्कटमा रहेको चौधरीले बताउनुभयो  ।
ग्रामथानसँगै पोखरी र इनार हुने गर्थे । तर अहिले इनार र पोखरी भएका ग्रामथान भने बिरलै मात्रै रहेको चौधरीले बताउनुभयो । सुनसरीमा जग्गा प्लटिङ हुन थालेपछि ग्रामथानमा मुद्दा मामिला समेत पर्ने गरेको छ
संस्कृति जोगाउँदै वैशाखभरी सिरुवा मेला
चैत महिनाको अन्तिम साता बहर जात्रा मनाएपछि थारु समुदाय सिरुवा पर्व मनाउन सुरु गर्छन् । चैत्रको अन्तिम साता उनीहरू ग्रामथान नजिकै रहेको खेतमा विधिपूर्वक विशेष पूजा गरेर बहर जात्रा ( बाहिर) मनाउ छन् । बहर जात्रा मनाएसँगै सिरुवा पावन सुरु हुने थारु संस्कृति संरक्षणमा लागेका अभियन्ता गवनसिंह चौधरीले बताउनुभयो ।
सुनसरीको रामधुनीमा रहेको पाञ्चायन थानमा र कोशी गाउँपालिका २ पश्चिम कुशाहामा सलहेस थाममा वैशाख १ गते मेला लागेसँगै सिरुवा मेला लाग्न सुरु हुन्छ । थारु समुदाय भने सिरुवा पावनका रूपमा यो पर्व मनाउने गर्छन् ।
पाञ्चायन थान नजिकै रहेको सिरा थानमा विधि पूर्वक पूजा गरेपछि सिरुवा पर्व सुरु हुने गर्छ । प्रकृति पूजक थारुहरू शिरा थानमा दही चिउरा चढाउने गर्छन् । दही चिउरा चढाउँदा गाई वस्तु र चौपाया सप्रने उनीहरू विश्वास गर्छन् ।
पाञ्चायन थानमा भने बलि दिने गरिन्छ । नयाँ वर्षको दिन यहाँको मेला भर्न सुनसरी मोरङ सप्तरी उदयपुरबाट समेत मानिसहरू आउने गर्छन् । तर सिरुवा मेलाको जगका रूपमा रहेको पाञ्चायन थानमा भने अहिले शिव मन्दिर बनेको छ । ठुलो शिव मन्दिरका पछाडि पट्टी जब्धी ( पोखरी) को छेउमा रहेको थानमा थारुहरू पूजाआजा गर्ने गर्छन् ।
त्यसैगरी इनरुवा ७ को चान्दबेलामा, बबिया, सतैरझोरा, इटहरी १६ मा जब्दी मेला , इनरुवाको भगवती मन्दिरको सिरुवा मेला सहित वैशाखभरी यहाँ ठुलो सिरुवा मेला लाग्ने गर्छ ।
आदिवासी जनजातिहरूमा नयाँ वर्षको उत्सव
उता सुनसरी सहित झापा, मोरङ र उदयपुर लगायतका जिल्लामा बसोबास रहेको राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझी लगायतका जातिले सिरुवा पर्व मनाउँमा व्यस्त बनेका छन् । कोशी गाउँपालिका ३ का गुलावी मुखियाका अनुसार वैशाख १ गतेको विधिलाई सतुवाइन भनिन्छ । घरका देवी देवतालाई सातु, सख्खर चढाएर आफू तथा आफ्ना साथीभाइ इष्टमित्रलाई खान दिइन्छ । यसैगरी पानी सिरुवा, काद सिरुवा र रङ्ग सिरुवा गरी विभिन्न विधि पूरा गरी सिरुवा पर्व मनाउने गरिन्छ । जिल्लाको ठाउँठाउँमा पानी सिरुवा मनाइएको छ ।
१,सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा सिरुवा र जुडशीतल पर्वको अबसरमा आशिर्वाद दिदैं।
तस्बिर : जयकृष्ण यादव। इनरुवा