गण्डकीमा मुख्यमन्त्रीबाहेक सबै मन्त्री परिवर्तन
फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख २ गते । गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा मङ्गलबार फेरिएका मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयनताको शपथ गराउनुभयो ।
नौ सदस्यीय गण्डकीको मन्त्रीमण्डलमा नेपाली कांग्रेस र नेकपा (एमाले) बाट चार, चार जना मन्त्री बन्नुभएको छ । नयाँ मन्त्रीमण्डमा कांग्रेसबाट जितबहादुर शेरचन आर्थिक मामिला र नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त हुनुभएको छ ।

कांग्रेसका प्रदेशसभा सदस्य रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बन्दा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नम्डु गुरुङले पाउनुभएको छ । यसअघि आर्थिक मामिलामा डा. टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा र वन तथा वातावरणमा भेषबहादुर पौडेल मन्त्री हुनुहुन्थ्यो ।
जेनजी आन्दोलनका बेला फणीन्द्र देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीबाट राजीनामा दिएपछि मुख्यमन्त्री पाण्डेले नै यो मन्त्रालय सम्हाल्दै आउनुभएको थियो । नेकपा (एमाले) का गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य र भीमबहादुर कार्की भूमि व्यवस्था तथा सहकारीमन्त्री नियुक्त हुनुभएको छ ।
भौतिकमा प्रकाशबहादुर केसी, कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक र पर्यटनमा मित्रलाल बस्याल मन्त्री हुनुहुन्थ्यो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङको पद अदालतको आदेशले रिक्त छ । अहिले नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार बनाएका छन् । यहाँ एमालेको २२ र कांग्रेसको २७ प्रदेशसभा सदस्य छन् ।
