जयकृष्ण यादव
इनरुवा, वैशाख १० गते । 
सुनसरीको गढी गाउँपालिका–२ छप्कीस्थित गोरखनाथ आधारभूत विद्यालयले चालु शैक्षिक सत्रदेखि शैक्षिक सुधार अभियान सुरु गरेको छ। विद्यालयमा सञ्चालन गरिएको उक्त अभियान र अङ्ग्रेजी माध्यममा पठनपाठनका लागि अभिभावकदेखि शिक्षक तथा सरोकारवालासम्मले प्रतिबद्धता जनाएका छन्।

विद्यालय व्यवस्थापन समिति, शैक्षिक सुधार अभियान समिति, शिक्षक तथा अभिभावकसहित सरोकारवालाहरूको सर्वपक्षीय बैठकले युवाहरूले थालेको शैक्षिक सुधार अभियानलाई सबैले साथ र सहयोग गर्ने निर्णय गरेको छ। गरिब, विपन्न तथा दलित–मुसहर समुदायका बालबालिकाका लागि पनि सामुदायिक विद्यालयमै अङ्ग्रेजी माध्यमको निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यसहित अभियान सफल बनाउन सबैले हातेमालो गर्ने प्रतिबद्धता जनाएको प्रधानाध्यापक राजकुमार यादवले जानकारी दिनुभयो।

बैठकले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक, शिक्षक र सरोकारवालाले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने, श्रमदान तथा जनसहभागितामा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षकहरू बिहान ९ः३० देखि दिउँसो ४ बजेसम्म अनिवार्य रूपमा विद्यालयमा उपस्थित रहने, अभिभावकले विद्यार्थीलाई समयमा विद्यालय पठाउने, पोशाकका लागि पहल गर्ने तथा नियमित अनुगमन गर्ने व्यवस्था मिलाइने भएको छ।

यस्तै, सुधारका लागि पृष्ठपोषण दिने, अभिभावकको सक्रिय सहभागिता बढाउने, घरदैलो अभियान तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। भौतिक पूर्वाधार सुधार, बालमैत्री वातावरण निर्माण, शैक्षिक सामग्रीको उपलब्धता सुनिश्चित गर्ने र शिक्षकको उत्तरदायित्व प्रभावकारी बनाउने निर्णय पनि गरिएको छ।

पठनपाठनमा शिक्षकको सक्रियता बढाउने र विद्यालय समयमा राजनीतिक गतिविधि नगर्ने सहमति समेत भएको छ।

विद्यार्थी भर्ना अभियानलाई व्यवस्थित बनाउने तथा सिकाइ प्रक्रियालाई गुणस्तरीय बनाउन अभिभावकसँग सुझाव सङ्कलन गरी आवश्यक निर्णय कार्यान्वयनमा जोड दिइएको अभियानका संयोजक शिशिरकुमार यादवले जानकारी दिनुभयो।

यस अभियानले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभिभावक, शिक्षक र सरोकारवालाबिच समन्वय बढाउने तथा बालबालिकाको सिकाइ उपलब्धिमा ठोस सुधार ल्याउने अपेक्षा गरिएको शिक्षाप्रेमी अभियन्ता विधानन्द यादवले बताउनुभयो।

शैक्षिक सुधार अभियानले मुसहर समुदायका बालबालिकालाई पनि अङ्ग्रेजी माध्यममा निःशुल्क पढाउने व्यवस्था गरेको अभिभावक अढुलिया ऋषिदेवले बताउनुभयो। सबैको प्रतिबद्धताले गाउँका विपन्न, दलित र मुसहर समुदायका बालबालिकाले समेत अंग्रेजी माध्यममा निःशुल्क शिक्षा पाउने भएकाले आफू लगायत धेरै अभिभावक खुसी भएको उहाँको प्रतिक्रिया छ।