सुनसरी प्रहरीको स्वीप अपरेसनमा १२० जना पक्राउ
जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख ११ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीको स्वीप अपरेसनमा १२० जना पक्राउ परेका छन् । सुनसरी प्रहरीले तीन दिनमा जिल्लाको विभिन्न ठाउँमा चलाएको स्वीप अपरेसनमा १२० जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट संचालन गरिएको स्वीप अपरेसनमा लागू औषध बिक्री बितरण गर्ने, सेवन गर्ने, समाजमा गुण्डागर्दि गर्दै हिड्ने १२० जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काका अनुसार पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाईएको छ ।

अभियानमा ११५ जना पुरुष र पाँच जना महिला गरि कुल पक्राउ गरिएको संख्या १२० जना रहेको खड्काले जानकारी दिनुभयो । पक्राउ परेका मध्ये १५ जनालाई सुधार केन्द्र पठाईएको छ । सुधार केन्द्रमा पठाएको मध्ये १० जना पुरुष र पाँच जना महिल रहेका छन् । पक्राउ परेका ७६ जनालाई सम्झाई बुझाई आफन्तलाई जिम्मा लगाएको छ भने दुई जना माथि लागू औषध मुद्दा दर्ता गरिएको छ । पक्राउ परेकामा लागू औषध मुद्दाको एक फरार प्रतिवादी समेत पक्राउ परेका छन् । थप ४४ जनामाथि अनुसन्धान भईरहेको छ । यो दुई दिनमा लागू औषध ब्राउन सुगर २६.५६ ग्राम र ४४ पिस ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
