ब्राउन सुगर सहित चार पक्राउ
जयकृष्ण यादव । इनरुवा
इनरुवा, वैशाख १६ गते । सुनसरीको विभिन्न स्थानबाट लागु औषध ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन । जिल्लाको कोशी गाउँपालिका वडा नं.१ लौकहीबाट तीन जना र धरानबाट एक जना गरी चार जना पक्राउ परेका हुन । ब्राउन सुगर सहित पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका ११ का ३२ वर्षीय सन्देश लिम्बु, उदयपुरको बेलका नगरपालिका वडा नं.३ का २४ वर्षीय प्रताप राई, मोरङको कटहरी गाउँपालिका वडा नं.४ का २२ वर्षीय बिबेक कुमार मण्डल र उदयपुरको त्रियुगा नगरपालिका वडा नं.–१२ का २४ वर्षीय मोहमद इस्माइल रहेका छन् । चार जनाको साथबाट ११ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका वडा नं.१ लौकही स्थित पुर्व पश्चिम राजमार्गमा तीनजनालाई पक्राउ गरिएको हो । उनीहरुलाई चेकजाँच गर्दा प्रताप राईको साथबाट ६.४४ ग्राम, बिबेक कुमार मण्डलको साथबाट ०.३९ ग्राम, मोहमद इस्माइलको साथबाट १.७४ ग्राम सहित तीन जनाको साथबाट ८.५७ ग्राम ब्राउन सुगर बरामद भएको थियो । त्यसैगरी धरान उप–महानगरपालिका वडा नं.११ नगरकोटबाट प्रहरी टोलीले सन्देश लिम्बुको कोठा चेकजाँच तथा खानतलासी गर्दा १.४५ ग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको जनाएको छ ।




१, बरामद भएको ब्राउन सुगर ।
