इनरुवा, वैशाख १६ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर १० को नयाँ बनाउन लागेको वडा कार्यालय भवन निर्माणको विषयमा विवाद चर्किएको छ । इनरुवा नगरपालिका वडा नं.१०, जल्पापुरमा वडा कार्यालय भवन निर्माणको विषयलाई लिएर स्थानीय बीचमा मतभेद देखिएको हो । साविक गाउँ पञ्चायतको नाममा रहेको जग्गामा वडा कार्यालय भवन निर्माण गर्नुपर्ने एकथरीका वडाबासीको माग छ भने अर्को तर्फ वडा अध्यक्ष खलिल अख्तर सहितकाले अहिले भएको सडक छेउको एलानी जग्गामा नयाँ वडा कार्यालय भवन निर्माण गर्ने बताएपछि विवाद बढेको छ । वडा कार्यालयको नयाँ भवन कहाँ निर्माण गर्ने भन्ने विषयमा दुई फरक धारणा सार्वजनिक भएपछि विवाद चर्किएको हो ।
एक पक्षले स्वर्गीय रामपूजन प्रसाद गुप्ताले तत्कालीन जल्पापुर गाविसलाई दान दिनुभएको जग्गामै वडा कार्यालय भवन निर्माण गर्नुपर्ने अडान लिएको छ भने इनरुवा १० का वडा अध्यक्ष खलिल अख्तर सहितकाले अहिले भएको सडक छेउको एलानी जग्गामा नयाँ वडा कार्यालय भवन निर्माण गर्ने बताएपछि विवाद बढेको स्थानीयहरुले बताएका छन् । उनीहरूले सार्वजनिक प्रयोजनका लागि दिइएको उक्त जग्गाको सदुपयोग गर्दै त्यहीँ स्थानमा भवन निर्माण गर्नु उपयुक्त हुने तर्क गर्दै आएका छन् । अर्काे पक्षका स्थानीयवासीले भने हालकै स्थानमा वडा कार्यालय भवन निर्माण हुनुपर्ने माग राख्दै आएका छन् । उनीहरूका अनुसार अहिलेको स्थान जनसुविधाका हिसाबले सहज र पहुँचयोग्य भएकाले स्थान परिवर्तन गर्नु उपयुक्त नहुने धारणा राखेका छन् । यस विषयमा सरोकारवालाबीच सहमति जुट्न नसक्दा वडा कार्यालय भवन निर्माण प्रक्रिया अन्योलमा परेको छ । उता दुई सय भन्दा बढी वडाबासीहरु वडा अध्यक्ष खलिल अख्तरको निणर्य विरुद्ध र साविक गाविसको जग्गामा निर्माणको माग गर्दै इनरुवा नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय र भौतिक पूर्वाधार कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । सरकारी गाउँ पञ्चायतकै जग्गामा नयाँ वडा कार्यालय भवन निर्माण गर्नुपर्ने दवाब समुहका अध्यक्ष सैलेन्द्र प्रसाद गुप्ताले आफूले माग सहितको ध्यानाकर्षण पत्र इनरुवा नगरपालिका कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत भास्कर दाहाल, जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेलाई र भौतिक पूर्वाधार कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिनुभयो ।


१, इनरुवा नगरपालिका १० का स्थानीयहरु जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाउदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा