काठमाडौँ, वैशाख १८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा तीन वटा महत्वपूर्ण कामको घोषणा गर्नुभएको छ ।

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस दिवसको अवसरमा मन्त्री यादवले भिडियो सन्देश जारी गर्नुहुँदै पहिलो घोषणाअन्तर्गत पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको बताउनुभयो ।

उक्त कार्यक्रमले प्रत्येक श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्ने उहाँको भनाइ छ ।

दोस्रो घोषणामा विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली दूतावासमा रहेका श्रम सहचारीरकन्सुलरबाट हप्तामा एक पटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिने पनि मन्त्री यादवले उल्लेख गर्नुभयो । “अब तपाईंहरू जहाँ हुनुहुन्छ सरकार तपाईसँगै छ,” उहाँले भन्नुभयो ।

मन्त्री यादवले तेस्रो घोषणमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकहरुले घडेरी खरिद गर्नका लागि ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने उल्लेख गर्नुभयो ।

त्यसबाहेक एक करोड ५० लाखसम्म नियमानुसार सापटी लिन सक्ने व्यवस्था मिलाइएको पनि उहाँको भनाइ छ । यसका अतिरिक्त नीतिगत सुधार, संस्थागत पुनर्संरचना तथा नवीन रोजगारी सृजनाका कार्यक्रमहरू पनि अघि बढिरहेको उहाँले बताउनुभयो ।

मन्त्री यादवले भिडियो सन्देशमा श्रमको सम्मान नै देश विकासको आधार हो’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै सबै क्षेत्रका श्रमिकका लागि उचित पारिश्रमिक, मर्यादित कामको वातावरण र श्रम अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“श्रम कुनै एक पेशा वा वर्गमा सीमित छैन ।निर्माण स्थलमा काम गर्ने मजदुरदेखि बिरामीको उपचार गर्ने चिकित्सकसम्म, खेतमा पसिना बगाउने किसानदेखि न्यायका लागि खटिने कानुन व्यवसायीसम्म, घरायसी कार्यमा सहयोग गर्ने घरेलु श्रमिकदेखि प्रविधिको विकास गर्ने इन्जिनियरसम्म  ज्ञानको ज्योति फैलाउने शिक्षकसम्म, हामी सबै श्रमिक हौं,” उहाँले भन्नुभएको छ ।

उहाँले हामी सबै आ–आफ्नो स्थानबाट राष्ट्र निर्माणमा योगदान पुर्‍याइरहेको उल्लेख गर्दै आजको यस विशेष दिनमा हामी सबैले एक–अर्काको योगदानको मूल्य बुझ्दै सम्मान गर्ने र एक–अर्काप्रति कृतज्ञता व्यक्त गर्ने संस्कारलाई अझ सुदृढ बनाउन आवश्यक भएको बताउनुभयो ।