टोल विकास संस्थाको अगुवाईमा सरसफाई सहित सामुहिक कार्य गर्ने प्रतिवद्धता
इनरुवा, बैशाख १९ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ बबियाका स्थानीयहरुले पहिलो पटक टोल विकास संस्था गठन गरेर सरसफाई अभियान चलाउने भएको छ । इनरुवा नगरपालिका वडा नं. ९ स्थित गठन भएको बबिया ३ टोल विकास संस्थाले सरसफाई सहित सामुहिकहितका कार्य गर्ने भएको हो । वडाकै पहिलो टोल विकास संस्था भएकाले सनिबार वृहत भेलाबाट टोलको सडकबाटो सरसफाई, फोहोर व्यवस्थापन, बाटोघाटो मर्मत र सामुदायिक सद्भाव बढाउने, गाउँमा जनचेतना जगाउने,पूर्वाधार सुधार, फोहोर व्यवस्थापन र सार्वजनिक तथा नीजि बोटबिरुवा संरक्षण गर्ने निणर्य गरेको छ । वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी सहित जनप्रतिनिधिहरुको उपस्थितीमा स्थानीयहरुले आ आफ्नो घर अगाडीको फोहोर सरसफाई गर्ने र अतिक्रमण हटाउने प्रतिवद्धता जनाएका छन् ।

टोल विकास संस्थाका अध्यक्ष तैयव अलिले आफूहरुको टोल विकास संस्थाले आफ्नो वडा तथा टोल क्षेत्रभित्र सरसफाई, फोहोर व्यवस्थापन, बाटोघाटो मर्मत र सामुदायिक सद्भाव बढाउने कार्यहरू गर्ने बताउनुभयो । उहाँले संस्थाले वडा कार्यालयको समन्वयमा टोल सरसफाई, अतिक्रमण हटाउने र वृक्षारोपण जस्ता कार्यहरु गर्ने र जनचेतनामूलक अभियानहरू सञ्चालन गरी टोललाई सफा र हरियाली बनाउन सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो । भेलामा अलिले बैशाख १० गते वडामा सुचिकृत गरी प्रमाण पत्र प्राप्त गरेकाले आधिकारीक रुपमा वडा तथा नगरपालिकाको आर्थिक, सामाजिक, साँस्कृतिक तथा भौतिक पूर्वाधार विकास र सुशासन कायम गर्ने क्षेत्रमा टोल विकास संस्था सकृय भएको बताउनुभयो ।

उहाँले स्थानीयहरुको सक्रिय सहभागिताले बबियामा पहिलो पटक सुचिकृत गरी प्रमाण पत्र पाएकाले काम गर्न आतुर रहेको जानकारी दिनुभयो । टोल विकास संस्थाले सरसफाई सम्बन्धी मुख्य कार्यहरूमा नियमित सरसफाई अभियान, सार्वजनिक स्थान, सडक, बाटोघाटो र मठमन्दिर, मस्जित परिसरको नियमित सरसफाई गर्ने बताउनुभयो । संस्थाका सचिव मजिद साफीका अनुसार पछाडी परेका समुदायलाई जनचेतना जगाउदै पूर्वाधार सुधार, फोहोर व्यवस्थापनमा घरघरबाट निस्कने फोहोरको उचित वर्गीकरण र संकलनमा सहयोग गर्ने अभियान चलाउने भएको छ । गाउँमा स साना मर्मत सम्भार र वातावरण सुधारका कार्यहरू गर्ने, बोटबिरुवा संरक्षण र वृक्षा रोपण गर्ने, सार्वजनिक स्थलमा हरियाली प्रवद्र्धन र वृक्षारोपणको काम गर्ने बताउनुभयो । यो संस्था वडा समितिको मातहतमा रही स्थानीय बासिन्दाको सहभागितामा समुदायको विकासका लागि काम गर्ने तल्लो तहको संयन्त्रको रुपमा स्थापित हुने समेत संस्थाका पदाधिकारीहरुको दावी रहेको छ । भेलामा वडा सदस्य मनोज कुमार यादवले गाउँटोलमा सडक मर्मत र वरपरको झाडी सरसफाई लगायतका कार्य गर्ने संस्थाको योजनामा आफूहरुले सहयोग गर्ने बताउनुभयो । अर्का वडा सदस्य रामसुन्दर मेहताले टोल विकास संस्थाले सडक तथा बाटोको मर्मत तथा सरसफाई गर्ने योजना ल्याएकाले त्यसको सार्थकताका लागि वडाले समेत सहयोग गर्ने बताउनुभयो । टोल विकास संस्थाले स्थानीयको श्रमदान मार्फत गाउँटोल सम्म आवतजावत गर्ने सडक तथा सार्वजनिक स्थलको मर्मत तथा सरसफाईमा योगदान गर्ने समाजसेवी हविव अलिले जानकारी दिनुभयो ।

सडक दायाँबायाँको गोबर गोईठा, परालको छार्पो, बोटविरुवा र झाडीका कारणले दुर्घटनाको जोखिम हुने भएकाले स्थानीयको सहभागीतामा अतिक्रमण, फोहार र झाडी हटाउने तथा बोटविरुवा छाट्ने र आवश्यकता अनुसार हरियाली बढाउन वृक्षा रोपणका कार्यक्रम समेत गरिने भएको संस्थाले जनाएको छ । स्थानीयबासी तथा पत्रकार जयकृष्ण यादवले सुनसरीको इनरुवा नगरपालिका ९ नम्बर वडा कार्यालयले वडामै पहिलो पटक बबिया ३ टोल विकास संस्था सुचिकृत प्रमाण पत्र दिएकोमा वडा कार्यालयलाई धन्यवाद र संस्थालाई बधाई दिनुभएको छ । यादवले टोल विकास संस्थाको उपयोगिता र फाईदाको बारेमा जानकारी दिनुहदै विकास, सुशासन र समृद्धिको आधारको लागि संस्थाले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले टोल विकास संस्थालाई सचेतना मुलक कार्यक्रम देखी लोककल्याकारी कामसम्म र सरसफाई देखी बचतको बानीको विकाससम्मको काम गर्न सुझाव दिनुभयो । उहाँले वडामा पहिलो सुचिकृत प्रमाण पत्र पाएको संस्थाले असल काम गरेको खण्डमा अरुलाई समेत उर्जा मिल्ने र सार्थक सन्देश प्रवाह हुने बताउनुभयो । समाजसेवी केदार पोखरेलले आफ्नो टोलमा पहिलो पटक टोल विकास संस्था गठन भएको र आधिकारीता पाएकाले खुसी व्यक्त गर्नुहुदै असल काम गर्ने बताउनुभयो । इनरुवा नगरपालिका ९ नम्बर वडा कार्यालयले पहिलो पटक बबिया ३ टोल विकास संस्था सुचिकृत प्रमाण पत्र वितरण गरेको छ ।

१, इनरुवा नगरपालिका ९ बबियामा भएको टोल विकास संस्थाको भेला ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
