जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख २५ं गते । शैक्षिक सुधारको माग गर्दै सुनसरीको गढी गाउँपालिकामा शैक्षिक सुधार अभियानले ध्यानाकर्षण पत्र बुझाएको छ । गढी गाउँपालिकाका अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको पत्रमा सरकारी सामुदायिक विद्यालय सुधार तथा आवश्यक व्यवस्थापन सम्बन्धमा ध्यान दिनुपर्ने र शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने माग सहितको ध्यानाकर्षण पत्र बुझाएको हो । गढी गाउँपालिका २ का सामाजिक अभिन्यन्ता विधानन्द यादव सहितको शैक्षिक सुधार अभियान टिमले ध्यानाकर्षण पत्र बुझाएको अभियन्ता तथा निवर्तमान गढीका उपाध्यक्ष राजकुमारी चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार स्थानीय सरकार, प्रदेश सभा तथा संघीय प्रतिनिधि सभा सदस्यहरूलाई समेत जानकारीका लागि शैक्षिक सुधार अभियानले ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा गढी गाउँपालिका भित्र रहेका सरकारी विद्यालयहरूमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरू आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारबाट आउने गरेकाले उनीहरुलाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विद्यालय सुधार अभियान सञ्चालन भइरहेको सन्दर्भमा शैक्षिक संस्थामा देखिएको समस्याहरु तथा समाधानका उपायहरू सहित राखेको अभियन्ता यादवले बताउनुभयो । यादवले गढीको शिक्षाका समस्याहरूमा विद्यार्थी बस्नका लागि पर्याप्त डेस्क–बेन्चको अभाव, विद्यालय पोशाक,कापीकिताब तथा शैक्षिक सामग्रीको कमी, जाडो र गर्मीको समयमा कक्षा सञ्चालनमा कठिनाई, शैक्षिक वातावरणको अभाव, दण्ड र पुरस्कारको निती कार्यान्वयन नभएको, शिक्षकका लागि स्पष्ट मूल्याङ्कन सहित सम्मान तथा कारबाही प्रणालीको अभाव, स्वच्छ खानेपानी, शौचालय तथा सरसफाइ व्यवस्थापन कमजोर सहितका रहेको बताउनुभयो ।

स्थानीय सरकारले समस्या सामाधान गर्न सक्ने भएकाले आधुनिक शिक्षण सामग्री आईसिटी, प्रोजेक्टर, पुस्तकालयको आपुर्ती, अभिभावक, विद्यालय र स्थानीय तहबीच समन्वय, अनुगमन तथा मूल्याङ्कन प्रणाली प्रभावकारी र खोला किनारमा रहेको विद्यालयमा धेराबार गर्नुपर्ने सुझाव दिनुभएको छ । उहाँले सामाधानका उपायहरुमा प्रत्येक विद्यालयमा आवश्यक मात्रामा डेस्क–बेन्च, पंखा तथा आधारभूत पूर्वाधारको व्यवस्था गर्नुपर्ने, जोखिमयुक्त (खोला किनार) विद्यालयहरुमा घेरा–बार निर्माण गरी सुरक्षा सुनिश्चित गर्नुपर्ने, विपन्न तथा दलित समुदायका विद्यार्थीहरुलाई निःशुल्क पोसाक, कापी–किताब उपलब्ध गराउनु पर्ने, उत्कृष्ट कार्य गर्ने शिक्षकलाई नियमित रूपमा पुरस्कार तथा प्रोत्साहन प्रदान गर्ने नीति लागू गर्नुपर्ने, कमजोर प्रदर्शन गर्ने शिक्षकहरूको मूल्याङ्कन गरी सुधारात्मक तालिम तथा आवश्यक कारबाही गर्ने व्यवस्था गर्नुपर्ने भनेको यादवको कथन छ । अभियन्ता गौतम माझीका अनुसार विद्यालयमा स्वच्छ पानी, शौचालय तथा सरसफाइको उचित व्यवस्थापन गर्नुपर्ने, आधुनिक शिक्षण प्रणाली (आईसीटी) को विकास तथा प्रयोगमा जोड दिनु गर्नुपर्ने, विद्यालय व्यवस्थापन समिति, अभिभावक र जनप्रतिनिधिबीच नियमित समन्वय बैठक सञ्चालन गर्नुपर्ने,नियमित अनुगमन तथा पारदर्शी मूल्याङ्कन प्रणाली लागू गर्नुपर्ने र विपन्न तथा दलित समुदायका अभिभावकहरूले बालबालिकालाई नियमित विद्यालय पठाएमा गाउँपालिकाबाट प्राप्त सेवा–सुविधामा विशेष सहुलियत प्रदान गर्ने व्यवस्था गर्नुपर्ने माग राखेको छ । शिक्षा सुधार अभियानलाई प्रभावकारी बनाउन सकारात्मक पहल, नेतृत्व र सहयोगको अपेक्षा गर्दै माग पत्र बुझाएको अभियन्ता बिधानन्नद यादवले जानकारी दिनुभयो । फरक प्रसंगमा यादवले गढीको खानेपानीको विषयमा समेत गाउँपालिकाको ध्यानाकर्षण गराउने बताउनुभयो ।


१, सुनसरीको गढी गाउँपालिकामा शैक्षिक सुधार अभियानले ध्यानाकर्षर्ण पत्र बुझाउदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा