जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ ६ गते । सुनसरीको कोशी गाउँपालिकामा नवनिर्मित लौकही सिटीहलको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ । बुधबार सिटीहलको उद्घाटन गर्नुहुदै पौडेल मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै स्थानीय सरकारको महत्व र गरिमा अझ व्यापक एवं गहन भएको बताउनुभएको छ । स्थानीय तहको महत्व बढेको बेला लौकही सिटीहलको भव्य उद्घाटन समारोह पनि यसको उदाहरण भएको बताउनुभयो । ग्रामीण क्षेत्रमा यस प्रकारको आधुनिक तथा बहुउपयोगी सिटी हल निर्माण हुनु निकै सराहनीय कदम भएको र यो परियोजनाले विकासका कार्यमा तीनै तहका सरकारबीच हुनसक्ने आपसी सहकार्यको एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।
उहाँले उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै स्थानीय तहलाई जनताको सबैभन्दा नजिकको सरकारका रूपमा उल्लेख गर्दै जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु र विकास निर्माणका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको मुख्य दायित्व भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले जनताका न्यूनतम आधारभूत आवश्यकता र जनचाहना अनुरूप विकासका कार्यहरूलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरूपका कार्यहरूलाई साकार बनाउन स्थानीय तहहरू सदैव दत्तचित्त र क्रियाशील हुनुपर्ने उहाँको भनाइ थियो । शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित, संविधान र शासन प्रणालीले राखेको मूल उद्देश्य पूरा हुने विश्वास व्यक्त गर्दै पौडेलले यसतर्फ विशेष ध्यान दिन जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।


सम्बोधनका क्रममा पौडेलले सप्तकोशी नदीको किनारमा रहेको कोशी गाउँपालिकाको ऐतिहासिक एवम् धार्मिक महत्वको समेत चर्चा गर्नुभयो । हाल कोशी गाउँपालिकामा पर्ने सप्तकोशी नदीको कुशाहाघाटमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति भएको इतिहास स्मरण गर्दै उहाँले यो भूमिलाई प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको कडीका रूपमा चित्रण गर्नुभयोे ।
यस क्षेत्रको सामीप्यमा रहेका बराहक्षेत्रधाम, रामधुनी, पिण्डेश्वर, दन्तकाली तथा बुढासुब्बा जस्ता महत्त्वपूर्ण धार्मिक स्थलहरूको भ्रमणबाट आफूलाई मनोरम अनुभूति भएको बताउँदै राष्ट्रपति पौडेलले ऐतिहासिक, भौगोलिक तथा धार्मिक दृष्टिकोणले प्रचुर सम्भावना बोकेको यस क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभयो ।
विगतको स्मरण गराउनुहुदै राष्ट्रपति पौडेलले वि.सं. २०६५ सालमा कोशी बाँध फुट्दा विस्थापित भएको बस्ती अहिले पुनः स्थापित भई विकासका गतिविधिहरू तीव्र रूपमा अघि बढेको देख्दा खुसी लागेको व्यक्त गर्नुभयो । उहाँले बाढीपीडित तथा जोखिमयुक्त यस क्षेत्रमा विपद् व्यवस्थापनका पूर्वतयारीका लागि पर्याप्त व्यवस्था मिलाउन तीनै तहका सरकारको आपसी हातेमालो र विशेष ध्यान पुग्ने अपेक्षा समेत राख्नुभयो । सिटीहल उद्घाटन समारोह सुनसरीको कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


१, सुनसरीको कोशी गाउँपालिकामा नवनिर्मित लौकही सिटीहलको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा