मदन–आश्रित स्मृति दिवसका अवसरमा कार्यशाला
नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट मदन भण्डारी स्मारक संरक्षक समाजले ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सुनसरीको इनरुवामा कार्यशाला आयोजना गरेको छ।

“नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका चुनौती र समाधानका उपाय” विषयक कार्यशालामा एमालेसँग आबद्ध विभिन्न तहका नेता–कार्यकर्ता, वाम बुद्धिजीवी तथा सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यशालामा सुबोधराज प्याकुरेलले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि डा. दिवाकर रेग्मी र गणेश प्रसाद दाहालले टिप्पणी गरेका थिए।
कार्यपत्र प्रस्तुत गर्दै प्याकुरेलले वाम आन्दोलनमा देखिएका नीतिगत, कार्यशैलीगत र संगठनात्मक संकटबारे विश्लेषण गरेका थिए। उनले अनुभव, इतिहास र कार्यदक्षताको समायोजनबाट मात्रै भविष्यको वाम शक्ति निर्माण सम्भव हुने धारणा राखे।
टिप्पणीकार रेग्मीले कम्युनिस्ट आन्दोलन निरन्तर सुधारको आन्दोलन भएकाले जनतामुखी भएर अघि बढ्नुपर्ने बताए। दाहालले कम्युनिस्ट आन्दोलन निर्माणमा बुद्धिजीवीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य भगवती चौधरी प्रमुख अतिथि रहेकी थिइन्। कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री राम प्रसाद मेहेता, प्रदेशसभा सदस्यहरू रमेश बस्नेत, निरा खनाल, इनरुवा नगरपालिकाका पूर्वमेयर तथा एमाले नेता खेमराज पोखरेल, एमालेका पूर्व केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल लगायतको उपस्थिति थियो।
त्यसैगरी कोशी प्रदेश कमिटी सदस्यहरू शुशिला पहाडी, अजय कुर्शियत, राज कुमार दंगाल, लोकेश निरौला तथा जिल्ला र नगर तहका नेता–कार्यकर्ताको पनि सहभागिता रहेको थियो।
प्रमुख अतिथि चौधरी र युवा नेता निरौलाले मदन भण्डारी र जीवराज आश्रित ले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए।
चौधरीले सबै नेता–कार्यकर्तालाई समेटेर अघि बढ्न सके एमाले पुनः देशको प्रमुख शक्तिका रूपमा स्थापित हुन सक्ने बताइन्। उनले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई केन्द्रमा राखेर संगठन सुदृढ बनाउन आग्रह गरिन्।
युवा नेता निरौलाले २०८२ फागुन २१ को आमनिर्वाचनको परिणामपछि निराश बनेका वाम कार्यकर्तामा उक्त कार्यक्रमले नयाँ उत्साह थपेको बताए। कार्यक्रमको अध्यक्षता मदन भण्डारी स्मारक संरक्षक समाजका अध्यक्ष सरोज बरालले गरेका थिए।
