“लागूऔषध दुव्र्यसनले निम्त्याउने परिणाम” वृतचित्र प्रदर्शन
जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ १३ गते । सुनसरीको बराहक्षेत्र नगरपालिकामा “लागूऔषध दुव्र्यसनले निम्त्याउने परिणाम” वृतचित्र सार्वजनिक गर्दै प्रदर्शन गरिएको छ । बुधबार बराहक्षेत्र नगरपालिकासँगको सहकार्यमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीले वृतचित्र सार्वजनिक गरेको हो । गाउँ तथा नगर र समाजमा बढ्दो लागूऔषध दुव्र्यसनको समस्या तथा यसले निम्त्याउने नकारात्मक असरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले लागूऔषध दुव्र्यसन विरुद्धको वृतचित्र सार्वजनिक गर्दै प्रदर्शन तथा विषेश योगदान गर्नेहरुलाई प्रशंसा–पत्र वितरण र विद्यालयका बालबालिकाहरु लागु औषध दुव्र्यसन विरुद्ध लोगो अंकित टि–सर्ट वितरण गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर प्रमुख डिआईजी विनोद घिमिरेको अध्यक्षता र बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवेले जानकारी दिनुभयो । घिमिरेले लागूऔषध दुव्र्यसन विरुद्धको वृतचित्र सार्वजनिक गर्दै प्रदर्शन गरिएको कार्यक्रमले लागुऔषध नियन्त्रणका लागि सार्थक सन्देश दिएको बताउनुभयो । उहाँले लागु औषध नियन्त्रणमा समाजको अहम भूमिका हुने भएकाले लागु औषध विरुद्धको अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहाँले लागु औषधले व्यक्ति, परिवार र समाजलाई क्षयिकरण गर्ने भएकाले यसको रोकथाम र नियन्त्रणमा समाजका हरेक ब्यक्ति, तह र तप्का एक हुनुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विषेश योगदान गर्नेहरु बारहक्षेत्रका सामाजिक शाखा प्रमुख अरुण मेहता सहित आठ जनालाई प्रशंसा–पत्र वितरण गर्नुभयो । त्यसैगरी १४ वटा विद्यालयका लागु औषध दुव्र्यसन विरुद्धको अभियान क्लवका बालबालिकाहरुलाई लागु औषध दुव्र्यसन विरुद्ध लोगो अंकित टि–सर्ट वितरण गर्नुभयो । कार्यक्रमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन तिम्सिना, बराहक्षेत्रका उपप्रमुख नन्दकुमारी सुनुवार सहितले सबै पक्षले लागु औषधलाई नियन्त्रणमा अझ विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । दक्षिणतर्फबाट भित्रिने विभिन्न लागुऔषधका क्याप्सुल, प्रतिवन्धित लागु औषध, उत्तरतर्फ उद्यपुर, धनकुटा, भोजपुरबाट भित्रिने गाँजालाई नियन्त्रण गर्न चुनौति रहेकाले त्यसलाई निरुत्साहित बनाउन समाजका सबै ब्यक्तिको अहम भूमिका रहेकोमा सरोकारबालाहरुले जोड दिएका थिए । वक्ताहरुले लागु औषधका बारेमा केही जानकारी भए प्रहरीलाई अवगत गराइदिनुपर्ने सबैको दायित्व हुने भएकाले त्यसमा सहयोग गर्न आग्रह गरेका छन् ।
बराहक्षेत्र उपप्रमुख सुनुवारले कोशीक्षेत्रमा लागु औषध पछिल्लोसमय चुनौति बन्दै गएको बताउनुभयो । कार्यक्रममा विभिन्न विद्यालय,संघ संस्था, वित्तिय क्षेत्र, ब्यवसायी, लगायतको उल्लेख्य उपस्थिति थियो ।
१, सुनसरीको बराहक्षेत्र नगरपालिकामा विद्यालयका लागु औषध दुव्र्यसन विरुद्धको अभियान क्लवका बालबालिकाहरुलाई लागु औषध दुव्र्यसन विरुद्ध लोगो अंकित टि–सर्ट वितरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
