इनरुवा, जेठ १७ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–१०, जल्पापुरमा घाट काटेको आरोपमा एक महिला माथि सार्वजनिक स्थलमा सामुहिक कुटपीट भएको छ ।

सनिबार जल्पापुर स्थित सुनसरी र मरिया खोला छेउको खेतमा घास काटेको आरोपमा इनरुवा नगरपालिका १० जल्पापुरकी २२ वर्षीया फरिदा खातुनमाथि सामुहिक कुटपीट भएको हो ।

खातुनले आफू सुनसरी खोला र मरिया खोलाबाट घाँस काटेर ल्याउने क्रममा सनिवार घासकै न्युहमा स्थानीय इनरुवा १० का २७ वर्षीय हावुल मियाँ, २५ वर्षीय अफताव मियाँ, फिरोज मियाँ र खुर्सिद मंसुरी सहितको समूहले आक्रमण सहित कुटपीट गरेको बताउनुभयो । उहाँले घटनाको भिडियो गाउँलेले बनाएको र आफू घाइते भएकोमा उपचारका लागि गएर आफ्नो घर फर्केको बताउदै आफुलाई न्याय चाहिएको बताउनुभएको छ ।

महिलामाथि भएको कुटपीटको घटना र अस्मिता समेतमा असर पार्ने गरि आक्रमण गरेकोले दोषीहरु माथि कार्वाही हुनुपर्ने पीडितका आफन्त मुस्तकिम मियाँले माग गर्नुभएको छ । पीडितले आईतबार विदा भएकाले सोमबार प्रहरीमा जाहेरी दिने बताउनुभयो । स्थानीय सलमा खातुनले इनरुवा १० मा पटकपटक यसप्रकारका घटना भएको भएपनि कार्वाही नहुदाँ महिलाहरु असुरक्षित बनेको बताउनुभयो ।