इनरुवा, जेठ २३ गते । सुनसरीको हरिनगर गाउँपालिकामा युवा तथा महिलाहरुलाई लक्षित गरेर लागू औषध दुव्र्यसन विरुद्धको सचेतना कार्यक्रम सुरु भएको छ । हरिनगर गाउँपालिका ५ नम्बर वडा कार्यालयले सीमावर्ती क्षेत्रमा लागु औषधको सेवन, ओसारपसर र दुव्र्यसनी बढेकाले र त्यसलाई ध्यानमा राखेर त्यस विरुद्ध अभियान सुरु गरिएको वडा अध्यक्ष सिकमलाल यादवले जानकारी दिनुभएको छ ।

यादवले युवा पुस्तालाई दुव्र्यसबाट जोगाउने उद्देश्यले लागु औषध दुव्र्यसन मुक्त विद्यालय, लागु औषध दुव्र्यसन मुक्त समुदाय र लागु औषध दुव्र्यसन मुक्त कार्य स्थलमा जोड दिँदै सचेतनामुलक कार्यक्रम सुरु गरेबो जानकारी दिनुभयो । उहाँले यसका लागि युवा, महिला, अभिभावक, विद्यालय र समुदायको भूमिका आवश्यक रहेकाले सबैको हातेमालो जरुरी रहेको उल्लेख गर्नुभयो । लागू औषध दुव्र्यसन विरुद्ध अभियान वडामा विगतमा सञ्चालन गर्दै आएकोमा कम प्रभाव देखिएकाले थप प्रभावकारी बनाउन विज्ञ प्रशिक्षक तथा प्रहरी समेतलाई राखेर कार्यक्रम गरेको वडा सचिव समसाद अंसारीले जानकारी दिनुभयो ।