इनरुवा, जेठ २४ गते । नेपाली नम्बर प्लेटको पिकअप भ्यान गाडीमा एक हजार सात सय ३३ केजी ६०० ग्राम जागाँ भारतको विरपुरमा बरामद भएको छ । सीमा सुरक्षा बल एसएसबीले भारत र नेपालको सीमावर्ती श्रीपुर तथा दाताटोल हुदै को १ ज २७२१ नम्बरको पिकअप भ्यान बिरपुर पुगेको बेला गाजा बरामद गरेको हो । गाडी र गाजाँ बरामद भएपनि तस्करहरु फरार भएको, चालक र लाइन मिलाउनेहरु भाग्न सफल भएको बताइएको छ । नेपाली सीमामा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरी सीमापारीको नेपाली नम्बर प्लेट भएको गाडी बरामद भएको घटना बारेमा बेखबर रहेको छ । सशस्त्र सीमा सुरक्षा हेडक्वार ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले सीमापारीको जागाँ बरामद भएको बारेमा सूचना आएपछि दुवै पक्षका सुरक्षा अधिकारीहरुले घटनाका बारेमा सूचना आदानप्रदान गरेको जानकारी दिनुभयो । फेला परेको गाडी नक्कली वा सक्कली एकिन नभएको र नेपालबाटै गएको पनि स्पष्ट आधार थाहा नभएको प्रतिकृया दिनुभयो ।
उता भारतीय एसएसबीले नेपाली भुमी कोशी गाउँपालिका ६ श्रीपुर दाता टोल हुदै भारतको सतना बीचको बाटो फेला पारेको जनाएको छ । सीमा क्षेत्रमा खटिएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) ४५ औँ वाहिनी वीरपुरले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेपछि सीमा सुरक्षा माथि प्रश्न उठेको कोशी ६ का स्थानीय युवा रोशन यादवले बताउनुभयो । वीरपुर नगर क्षेत्रमा पर्ने सीमा चौकी (बीओपी) सातअना अन्तर्गतको कोशी गाउँपालिका वडा न.६ धत्ता टोला क्षेत्रबाट एसएसबीले एक पिकअप गाडीसहित गाँजा बरामद गरेको थियो । एसएसबी ४५औँ वाहिनीका कार्यवाहक कमान्डेन्ट जगदीश कुमार शर्माका अनुसार, नेपालबाट भारततर्फ ठूलो परिमाणमा गाँजा तस्करी हुन लागेको गोप्य सूचनाका आधारमा एसएसबीले सीमा क्षेत्रमा कडा निगरानी र जाँच अभियान चलाइरहेको थियो । सोही क्रममा ६ जुन २०२६ अर्थात जेठ २३ गते शनिबारको राति धत्ता टोला क्षेत्रमा गुडिरहेको एक शङ्कास्पद को.१.ज . २७२१ नम्बर नेपाली प्लेटको पिकअप गाडीलाई एसएसबी टोलीले रोक्ने प्रयास गरेको थियो । एसएसबी टोलीलाई देखेपछि चालकले तीव्र गतिमा गाडी गुडाउँदै सुरक्षाकर्मीहरूलाई किच्ने प्रयास गरेका थिए । तर, एसएसबीका जवानहरूले चलाखीपूर्ण ढङ्गले प्रतिकार गर्दै गाडीलाई नियन्त्रणमा लिए ।
त्यस समयमा भइरहेको ठूलो वर्षा र अँध्यारोको फाइदा उठाउँदै तस्कर र गाडीका चालक भने फरार हुन सफल भए । उक्त पिकअपको खानतलासी गर्दा ४७ वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको कुल १,७३३.६ किलोग्राम गाँजा फेला परेको थियो । घटनाको थप अनुसन्धान तथा फरार तस्करहरूको पहिचानका लागि वीरपुर प्रहरीले पनि छानबिन प्रक्रिया अघि बढाएको छ । यसका साथै विस्तृत विवरण र थप जानकारी संकलनका लागि नेपालको सशस्त्र प्रहरी बल (एपीएफ)सँग पनि सूचना आदानप्रदान भइरहेको कमान्डेन्ट शर्माले जानकारी दिनुभयो । सीमा क्षेत्रमा हुने यस्ता अवैध र आपराधिक गतिविधि नियन्त्रणका लागि एसएसबी विशेष अभियान निरन्तर जारी राख्ने बताएको छ,भने नेपाली स्थानीयहरुले नेपाल प्रहरी र सस्त्र प्रहरी बलको २४ घन्टा उक्त क्षेत्रमा ड्युटी हुदाहुदै पनि पिकअप भ्यान लाई कार्यवाही गर्न नसक्नु भनेको संलग्ताको आशंका गरिएको जनाएको छ ।