सुनसरीको इनरुवा नगरपालिका १ स्थित प्रिसियस एकेडेमीमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि अभिमुखीकरण तथा स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई शैक्षिक वातावरण, एकेडेमीको इतिहास र आगामी यात्राबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा एकेडेमीका निर्देशक निलम मेहताले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्नुभयो । विद्यार्थीहरूलाई सम्बोधन गर्दै उहाँले यो एकेडेमीको दुई वर्षको यात्रा सफल रहेको र तेस्रो वर्षको यात्रामा विधार्थीहरूको प्राज्ञिक जीवनको एउटा महत्वपूर्ण अध्याय हुने बताउनुभयो ।
मेहताले स्थापनाकालको पृष्ठभूमि स्मरण गर्नुहुदै करिब दुई दशकको अनुभव र तीन वर्षको कक्षा ११ र १२ को सिकाईले घरकै खाना खाएर गुणस्तरीय शिक्षा र रोजेको शिक्षा पढ्न पाएको बताउनुभयो ।


सदरमुकाम सहित ग्रामिण विद्यार्थीहरू सामान्य शिक्षाका लागिसमेत बाहिरिनुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्दै नगरमै उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने र सक्षम एवं जिम्मेवार नागरिक तयार पार्ने उद्देश्यका एकेडेमीको स्थापना भएको सुनाउनुभयो ।
एकेडेमीका प्रिन्सिपल ओमप्रकाश यादवले विगतदेखि प्राज्ञिक उत्कृष्टतातर्फ निरन्तर प्रतिबद्ध रहेको चर्चा गर्नुहुदै इनरुवा कै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित र परिचित रहेको एक मात्र प्लस टु संस्था रहेको जानकारी दिनुभयो । विद्यार्थीहरूलाई प्रतिस्पर्धी विश्व बजार सुहाउँदो व्यावहारिक र पाठ्यक्रममा आधारित शिक्षा दिन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
विद्यार्थीहरूले चिकित्सा, इन्जिनियरिङ, प्रविधि, व्यवसाय, चार्टर्ड एकाउन्टेन्सी वा उद्यमशीलता जुन सुकै क्षेत्र रोजे पनि उनीहरूको सफलताका लागि कक्षा ११ र १२ को दक्ष शिक्षक र प्रशासन टोली हरसमय मार्गदर्शन गर्न तयार रहेको यादवको भनाइ थियो । विद्यार्थीहरूलाई कुनै पनि किसिमको दुविधा, समस्या वा चुनौती आइपरेमा आफ्नो कार्यकक्ष सधैँ खुला रहने भन्दै उहाँले निसङ्कोच सहयोग माग्न आग्रह गर्नुभयो ।
परिणामुखी पढाईसँगै विद्यार्थीको क्षमता विकासमा जोड दिने एकेडेमी अक्सर अब्बल विद्यार्थीको रोजाईमा पर्ने गरेको जनाएको छ । सीमित सिटमा मात्र विद्यार्थी भर्ना गर्ने एकेडेमीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय सगैं कानुन पठनपाठन गराउँदै आएको छ । पढेका कुरा व्यवहारिक जीवन र सुदूर भविष्यका लागि पनि उत्तिकै उपयोगी हुनुपर्छ भन्ने मान्यताका साथ पढाईका प्रभावकारी विधिहरु पहिल्याउने गरेको र त्यसका लागि आफूहरुसँग सुयोग्य शिक्षक समूह र उत्तरदायी व्यवस्थापकिय समूह सधैं गतिशिल रहेको बताउनुभयो । कार्यक्रममा विधार्थीहरुले सांस्कृति प्रस्तुति सहित नृत्य, गीत सहितको प्रतिभा प्रस्तुत गरेका थिए ।