जजन्युज काठमाडौं असार ११ गते ।

गुणस्तरीय शासनका लागि साझेदारी प्रबर्धन विषयक राष्ट्रिय स्तरीय संवाद सम्पन्न भएको छ । काठमाडौंमा समाजिक परिवर्तन केन्द्र काठमाडौंकाे आयोजना र देशका सराेकारबाला निकायका प्रतिनिधिहरुकाे सहभागीतामा संवाद सम्पन्न भएको हो ।
सम्पन्न भएको संवादमा प्रतिनिधि सभा सदस्य डाक्टर प्रमिला गच्छदार , साजिदा सिद्धिकि र प्रेमबहादुर बाेच तथा युवा अभियान्ता माजिद अन्सारी प्यानलमा रहनुभएकाे थियो । कार्यक्रममा पहिलो चरणको कार्यपत्र प्रस्तुति सुशासन विज्ञ रमेश अधिकारीले गर्नुभएको थियो । स्वागत मन्तव्य समाजिक परिवर्तन केन्द्र काठमाडौंका अध्यक्ष पवन राेयले राख्नुभएको थियो । विषय बस्तु र कार्यक्रमकाे ओचित्य बारेमा  डाक्टर प्रकाश भट्टराईले प्रष्ट पार्नुभएकाे थियो । संस्थाले तयार पारेको रिपोर्टकाे संक्षिप्त विवरण  डाक्टर प्रकाश भट्टराई र अनिष खत्रीले  प्रस्तुत  गर्नुभएकाे थियो ।


संवादकाे तयारी यसरी भएको थियो !
पृष्ठभूमि
नेपाल २०७२ सालको संविधान जारी भएपछि संघीय शासन प्रणाली कार्यान्वयनको तेस्रो निर्वाचन चक्रमा प्रवेश गरिसकेको छ। संविधानले समावेशी, उत्तरदायी, सहभागितामूलक र नागरिक केन्द्रित शासन व्यवस्थाको परिकल्पना गरेको भएतापनि, ती संवैधानिक सिद्धान्तहरूलाई व्यवहारमा रूपान्तरण गर्ने कार्य अझै चुनौतीपूर्ण रहँदै आएको छ। संघीय संरचनाले राज्यशक्तिको विकेन्द्रीकरण, सेवाप्रवाहमा सुधार र निर्णय प्रक्रियामा नागरिक सहभागिताका लागि महत्वपूर्ण अवसरहरू सिर्जना गरेको छ। यद्यपि, विभिन्न तहका सरकारबीचको समन्वय, प्रभावकारी सेवा प्रवाह, नागरिकको विश्वास र विकासका प्राथमिकताहरूको कार्यान्वयनमा देखिएका चुनौतीहरूले प्रदेश सरकार र संस्थाहरूको प्रभावकारिता तथा औचित्यबारे समेत प्रश्न उठ्ने अवस्था सिर्जना गरेको छ।Centre for Social Change पनि जीवनमा आजको सन्दर्भमा संघीयता सफल हुन्छ कि हुँदैन भन्ने बहसभन्दा पनि यसलाई नागरिकको जीवनमा प्रत्यक्ष रूपमा अनुभूत हुने गरी कसरी प्रभावकारी बनाउने भन्ने प्रश्न बढी महत्वपूर्ण बनेको छ। गुणस्तरीय सुशासन सुनिश्चित गर्न राज्य, नागरिक समाज, निजी क्षेत्र, सञ्चार माध्यम, शैक्षिक संस्था तथा नागरिकबीच सहकार्य र साझेदारी अपरिहार्य छ। यस्ता साझेदारीले नीति निर्माण तथा कार्यान्वयन प्रक्रियालाई थप उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउन मद्दत पुऱ्याउनुका साथै नागरिक र राज्यबीचको विश्वासलाई सुदृढ गर्न योगदान पुऱ्याउँछ।
यसै सन्दर्भमा, सामाजिक परिवर्तन केन्द्र (Centre for Social Change), ले नेपालमा गुणस्तरीय शासन प्रवर्द्धनका लागि आवश्यक साझेदारी, सहकार्य र साझा प्रतिबद्धताबारे छलफल तथा संवादको वातावरण सिर्जना गर्न “नेपालमा गुणस्तरीय शासनका लागि साझेदारी प्रवर्द्धन” विषयक राष्ट्रिय स्तरीय संवाद आयोजना गर्न लागिएको हो । उक्त संवादले प्रदेशस्तरका सरकारी निकाय, नागरिक समाज, निजी क्षेत्र, सञ्चारकर्मी, युवा तथा अन्य सरोकारवालाहरूलाई एकै थलोमा ल्याई, संघीय नेपालको परिवर्तित शासन सन्दर्भमा सुशासनको वर्तमान अवस्था, चुनौती, अवसर, छुटेका सम्भावनाहरू तथा साझेदारीका सम्भावित क्षेत्रहरूबारे साझा छलफल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै, यसले गुणस्तरीय सुशासनका नयाँ मापदण्डहरू तथा राज्य, नागरिक र निजी क्षेत्रबीचको साझेदारीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा बहुपक्षीय संवाद र साझा सिकाइको अवसरसमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ।


यस कार्यक्रमका उद्देश्यहरूः-
शासन प्रक्रिया सञ्चालनमा देखिएका द्वन्द्वहरूको अध्ययनको नतिजाबारे सम्बन्धित सरोकारवालाहरूलाई जानकारी दिई सचेत गराउनु
गुणस्तरीय शासनका लागि सबै सरोकारवालाहरूबीच साझा बुझाइ विकास गर्नु
परम्परागत सूचकभन्दा बाहिर गई शासनको गुणस्तर मापन गर्ने नयाँ मापदण्डहरूबारे छलफल गर्नु


द्वन्द्व रूपान्तरणमा सामाजिक परिवर्तन केन्द्रको भूमिका
नेपालको सङ्घीय शासन प्रक्रियामा देखी आएका यस्ता द्वन्द्वहरूको अहिलेसम्म कुनै तथ्यांक, विस्तृत अध्ययन, अनुसन्धान तथा विश्लेषण गरेको पाइएको छैन। यसै अभावलाई परिपूर्ति गर्न सामाजिक परिवर्तन केन्द्रले सङ्घीय संरचना बनेपछि शासन प्रक्रियामा देखिएका द्वन्द्व तथा भविष्यमा आउन सक्ने सम्भावित द्वन्द्वहरूको केही समयदेखि प्रारम्भिक अध्ययन तथा अनुगमन गर्दै आएको छ। विशेष गरी सामाजिक परिवर्तन केन्द्रले शासन प्रणाली र प्रक्रियासँग सम्बन्धित प्रमुख चार क्षेत्र- प्राकृतिक स्रोत तथा वातावरण, विकास निर्माण, राजनीतिक र जातीय-संस्कृतिसँग सम्बन्धित द्वन्द्वहरूको विस्तृत अध्ययन तथा अनुगमन गर्दै आएको छ। यी चार क्षेत्रमा देखिएका द्वन्द्वका कारणहरू पहिचान गर्ने, त्यससँग सम्बन्धित सरोकारवालाहरूको विश्लेषण गरी द्वन्द्व व्यवस्थापन / रूपान्तरण गर्न सरोकारवालाहरूलाई जानकारी दिने, छलफल / संवाद चलाउने, सजग गराउने र नीतिगत समाधानको पहल यस केन्द्रले गर्दै आएको छ।

  सामाजिक परिवर्तन केन्द्रले गरेको संवाद  कार्यक्रममा ९५ बढी सराेकारवालनहरु सहभागी भएकोमा चार जना प्यानलिष्ट र ९ जनाले सुझाब, प्रश्न र जिज्ञासा राखेका थिए ।