घरपालुवा जनावरलाई बेवारिसे नछाडौँ दिवसमा सचेतना कार्यक्रम ः जिम्मेवार पालक र पशु कल्याणमा जोड
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार १३ गते । बेवारिसे पशुलाई संरक्षण गरेर सवारी दुर्घटनाबाट जोगाउन योगदान गर्ने चार जनालाई सुनसरीको इनरुवामा विश्व घरपालुवा जनावरलाई बेवारिसे नछाडौँ दिवसको अवसरमा सम्मान गरेको छ । दिवशको अवसरमा इनरुवाका पदम बहादुर भुजेल, नारायण लुईटेल, इटहरीकी तुलसा दंगाल र सरस्वती भुजेललाई सम्मान गरेको हो । यसैबीच इनरुवामा विश्व घरपालुवा जनावरलाई बेवारिसे नछाडौँ दिवसको अवसरमा घरपालुवा जनावरको संरक्षण, जिम्मेवार पालनपोषण र पशु कल्याणसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले पशुको क्षेत्रमा काम गर्नेहरुको समूहिक आयोजनामा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा भारद्धाज भेट्स सप्लायर्सका सञ्चालक विष्णु भारद्धाजले घरपालुवा जनावरलाई आवेग वा परिस्थितिवश सडकमा बेवारिसे छाड्ने प्रवृत्तिले जनस्वास्थ्य, वातावरण तथा पशु कल्याणमा गम्भीर असर पार्ने भएकाले यस्तो कार्य नगर्न आग्रह गर्नुभयो । उहाँले जनावरलाई आवश्यक आहार, उपचार, नियमित खोप, सुरक्षित आश्रय तथा उचित स्याहार–सुसार उपलब्ध गराउनु प्रत्येक पशुपालकको दायित्व भएको जानकारी दिनुभयो ।
उहाँले घरपालुवा जनावरलाई बेवारिसे छाड्दा दुर्घटना, रोगको संक्रमण, वातावरणीय प्रदूषण तथा मानव–जनावर द्वन्द्व बढ्न सक्ने भएकाले त्यस विषयमा सबै सचेत हुनुपर्ने बताउनुभयो । कार्यक्रमका वक्ताहरूले घरपालुवा जनावर पाल्नु भनेको केवल अधिकार नभई जीवनभरको जिम्मेवारी समेत भएकोले यस प्रकारका कार्यक्रम प्रत्येक गाउँटोलमा गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पशु स्वास्थ्यकर्मी राम प्रसाद मेहताले जिम्मेवार पशुपालन नभएकाले केही समस्या देखिएकाले सबैले जनावरप्रति दया र करुणाको भावना विकास गराउन जरुरी रहेको बताउनुभयो । समुदायस्तरबाट बेवारिसे जनावर व्यवस्थापनमा सहकार्य आवश्यक रहेकोमा समेत मेहताले जोड दिनुभयो । कार्यक्रममा स्थानीय पशुपालक कृषक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । हरेक वर्ष जुन २७ मा मनाइने घरपालुवा जनावरलाई बेवारिसे नछाडौँ दिवसले जनावरप्रति जिम्मेवारीबोध बढाउने, पशु अधिकारको संरक्षण गर्ने तथा सुरक्षित र व्यवस्थित समाज निर्माणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

१, सुनसरीको इनरुवामा आयोजना गरेको विश्व घरपालुवा जनावरलाई बेवारिसे नछाडौँ दिवसको सहभागिहरु ।
तस्विर ः
