विधार्थीका लागि मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम सम्बन्धि सचेतनामुलक कार्यक्रम
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार १३ गते । सुनसरीको कोशी गाउँपालिकाका बालबालिका तथा विधार्थीका लागि मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको छ । सनातन कुटुम्ब सुनसरीको आयोजनामा ग्रामिण क्षेत्रमा देखिएको मानसिक स्वास्थ्य समस्या र आत्महत्याको घटना रोकथाम गर्ने उदेश्यले त्यस सम्बन्धित सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । आयोजक सनातन कुटुम्ब सुनसरीका संयोजक असोक चितलागिंयाका अनुसार बालबालिकाहरुको मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका लागि उनीहरुलाई सचेतना फैलाउनका लागि कार्यक्रम आयोजना गरेको हो । मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका लागि सचेतना अत्यन्तै जरुरी रहेको उहाँको भनाई छ । आत्महत्या गर्ने अधिकांश मानिसहरूमा कुनै न कुनै मानसिक समस्या डिप्रेसन रहेको देखिएको र बालबालिकाहरु समेत त्यसको सिकार भएकाले त्यसैले, मनोसामाजिक समस्या भएका बालबालिकाहरु तथा व्यक्तिहरूको भावना बुझ्ने, उनीहरूलाई एक्लो महसुस हुन नदिने र समयमै विशेषज्ञको सहयोग लिन प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रम गरेको अभियन्ता सनिवा सिग्देलले जानकारी दिनुभयो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले मानसिक स्वास्थ्य र आत्महत्याका लक्षणहरू पत्ता लगाएर रोकथाम गर्न सक्ने बताउनुभयो । घिमिरेले कुनैपनि बालबालिका अचानक धेरै रिसाउने, निराश रहने, आफ्नो दैनिक कार्य, गृहकार्य, पढाईमा रुचि नराख्ने, साथीभाइ र परिवारबाट टाढिने र एक्लै बस्न रुचाउने आत्महत्या पूर्वको संकेत भएकाले त्यसमा निगरानीका साथै सचेतना आवश्यक रहेको बताउनुभयो । प्रहरी उपरीक्षक केशव कुमार थेवेले कोही नकारात्मक अभिव्यक्ति दिने, नियमित खानेकुरा नखाने, निद्रा नलाग्ने तथा अत्यधिक सुत्ने तथा लागुपदार्थको कुलतमा फस्ने अवस्थामा रहेको देखिएको आत्महत्याको लक्षण भएको हुन सक्ने भएकाले त्यसमा परामर्श दिनुपर्ने र बचाउनुपर्ने बताउनुभयो ।
उहाँले बालबालिकाहरूको कुरालाई धैर्यपूर्वक सुनेर कुनै पनि निर्णय नसुनाउन र मनोविज्ञान बुुझ्न आग्रह गर्नुभयो । बालबालिकाहरुलाई समेत नकारात्मक गतिविधिमा नलाग्न, पढाई र खेलकुदमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले कहिकतै लक्षण देखिएको खण्डमा तुरुन्तै नजिकैको मनोचिकित्सक, मनोविद् वा परामर्शदातासँग भेट गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले बालबालिकाहरुलाई कुनै साथीमा मानसिक समस्या वा आत्महत्याको लक्षण देखिएको तुरुन्तै स्थानीय तह, प्रहरी वा आपतकालीन स्वास्थ्य सेवामा सम्पर्क गर्न आग्रह गर्नुभयो ।
१, सुनसरीको कोशी गाउँपालिकाका बालबालिका तथा विधार्थीका लागि आयोजना गरिएको मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम सम्बन्धि सचेतनामुलक कार्यक्रमका अथिति वत्ताहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
