मेलमिलापकर्ता र न्यायिक समिति सदस्यका लागि क्षमता विकास तालिम
इनरुवा, असार १४ गते । सुनसरीको हरिनगर गाउँपालिकामा न्यायिक समिति सदस्य र मेलमिलापकर्ताहरूका लागि ६ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । हरिनगरमा सञ्चालित तालिम आइतबार सहभागीलाई प्रमाणपत्र वितरण गरेर सम्पन्न भएको हो । तालिम गाउँपालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगतको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । तालिम समापनमा बोल्नुहुँदै उपाध्यक्ष भगतले यस प्रकारको तालिमले दक्ष मेलमिलापकर्ता उत्पादनमा सहयोग पुग्ने भन्दै आगामी दिनमा पनि तालिमलाई निरन्तरता दिइने बताउनुभयो ।
न्यायिक समितिका आएको उजुरीको निष्पक्ष भएर सुनुवाइ गरेको र गाउँपालिकाको वडा वडामा मेलमिलाप केन्द्र स्थापना भएको र बाँकीमा थप भएका मेलमिलापकर्ताहरूलाई समेटिएर मेलमिलाप केन्द्र स्थापना गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले गाउँमा मेलमिलापकर्ता तथा दक्ष जनशक्ति उत्पादन गरी न्यायिक कार्यलाई छिटो छरितो सम्पादन गर्न मेलमिलापमा जोड दिइने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा थप आधारभूत तालिम र काम गर्दै आएकाहरूको लागि बार्षिक कार्ययोजना बनाएर पुनर्ताजगीको व्यवस्थापन गर्न गाउँपालिका कार्यपालिका र गाउँसभासंग समन्वय गर्ने बताउनुभयो ।
प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष मियाँले मेलमिलापकर्ताहरूको क्षमता विकास गर्ने कार्यक्रमहरू गर्न, वडामा मेलमिलाप केन्द्र स्थापना तथा न्यायिक समितिका लागि आवश्यक बजेट विनियोजन गर्दै आएको बताउनुभयो । उहाँले मेलमिलापकर्ताहरू गाउँको विकासमा समेत सहयोग गर्ने भएकाले उनीहरूको पक्षमा गाउँपालिकाले काम गर्ने बताउनुभयो । त्यस अवसरमा प्रशिक्षार्थीहरूका तर्फबाट श्रीकृष्ण मेहता, सरिता मेहता र अलाउदिन अन्सारी सहितले बोल्नुभएको थियो । तालिममा प्रमुख प्रशिक्षकमा अधिवक्ता शुकदेव चौधरी र प्रशिक्षक मेलमिलापकर्ता जयकृष्ण यादव हुनुहुन्थ्यो । समापनमा मन्तव्य व्यक्त गर्दै प्रशिक्षक जयकृष्ण यादवले सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र तालिमको सार्थकता रहने भन्दै सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा न्यायिक समितिमा आउने समस्याहरू , वादविवाद, मुद्दाहरू लगायतका विषयहरूमा कसरी छलफल गर्ने ?, मेलमिलापकर्ताको भूमिका, न्यायिक समिति, मेलमिलाप समितिको काम, कर्तव्य र अधिकारका विषयमा विषय विज्ञहरूले प्रशिक्षण दिनुभएका थियो । मेलमिलापका आधारभूत सिद्धान्त, महत्त्व, पारदर्शिता तथा गोपनीयताको बारेमा प्रस्ट पारिएको तालिममा फिराद लेखन, प्रहरी , प्रकाशन र अदालतको काम लगायत विषयमा जानकारी गराइएको थियो । समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
