सचिन पोख्रेल

विराटनगर, असार १७ गते । आर्थिक मन्दी, घट्दो विज्ञापन बजार, डिजिटल माध्यमतर्फ बढ्दो आकर्षण र नीतिगत सहयोगको अभावका कारण कोशी प्रदेशका विभिन्न स्थानमा रहेका १६ वटा सामुदायिक रेडियोसहित ४४ वटा एफएम रेडियोको प्रसारण बन्द भएको छ । 

कोशी प्रदेशमा दर्ता भएका १२९ एफएम रेडियोमध्ये ४४ वटा प्रसारण बन्द भइसकेको तथ्य सार्वजनिक भएपछि मोफसल पत्रकारिताको भविष्यप्रति गम्भीर चिन्तासमेत व्यक्त गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कोशी प्रदेश मिडिया सम्मेलनमा प्रस्तुत गरिएको कार्यपत्रले प्रदेशको सञ्चारक्षेत्र अभूतपूर्व आर्थिक सङ्कट, घट्दो विज्ञापन बजार, तीव्र डिजिटल रूपान्तरण र नीतिगत उपेक्षाको दोहोरो मारमा परेर ४४ वटा एफएमको प्रसारण बन्द भएको तथ्य सार्वजनिक गरेको हो । 

कार्यपत्र प्रस्तुत गर्ने नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहन काजीका अनुसार बन्द भएका ४४ एफएममध्ये १६ वटा सामुदायिक रेडियो छन्, जसले ग्रामीण तथा दुर्गम समुदायमा सूचना प्रवाह, स्थानीय शासनको निगरानी, मातृभाषाको संरक्षण तथा सामाजिक अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए । ती रेडियो बन्द हुनु भनेको एउटा प्रसारण संस्था मात्र बन्द हुनु नभई स्थानीय समुदायको सूचना पहुँच र अभिव्यक्ति अधिकार नै कमजोर बन्नु हो । उहाँले आर्थिक अस्थिरताले सबैभन्दा बढी स्थानीय सञ्चार माध्यम प्रभावित भएको बताउनुभयो ।

कार्यपत्रमार्फत उहाँले एफएम रेडियो बन्द हुनुको प्रमुख कारणका रूपमा आर्थिक सङ्कटलाई औँल्याउनुभएको छ । पछिल्ला केही वर्षयता निजी क्षेत्रको विज्ञापन खर्च घट्दै जानु, सरकारी विज्ञापन वितरण प्रभावकारी नहुनु, सञ्चालन खर्च निरन्तर बढ्नु र डिजिटल माध्यमतर्फ विज्ञापनदाता आकर्षित हुनुले स्थानीय सञ्चार माध्यमको आयस्रोत कमजोर बन्दै गएको उल्लेख गरिएको छ । परिणामस्वरूप धेरै रेडियोले कर्मचारी कटौती, प्रसारण समय घटाउनेदेखि अन्ततः प्रसारण नै बन्द गर्ने अवस्था भोगिरहेका छन् ।

इटहरीबाट प्रसारण बन्द गरिएको १०७.२ मेगाहर्जको नमस्ते एफएमका सञ्चालक सोनु जयन्तीले रेडियो सञ्चालनको लागत निरन्तर बढ्दै गएको तर विज्ञापन बजार खुम्चिँदै जाँदा टिक्न नसकेपछि प्रसारण बन्द गर्नु परेको बताउनुभयो । उहाँले आर्थिक अस्थिरता, सीमित विज्ञापन बजार, सरकारी विज्ञापन वितरणमा असमानता, बढ्दो सञ्चालन खर्च तथा डिजिटल माध्यमसँग प्रतिस्पर्धा गर्न नसक्दा कोशी प्रदेशका एफएम रेडियो सङ्कटमा परेर बन्द भएको बताउनुभयो ।

स्थानीय रेडियोको आम्दानीको प्रमुख आधार स्थानीय व्यवसाय र सरकारी सूचना, विज्ञापन भए पनि आर्थिक मन्दीका कारण दुवै स्रोत खुम्चिँदै गएपछि आफूले सञ्चालन गर्दै आएको रेडियोको प्रसारण बन्द गरेको परिवर्तन एफएमका सञ्चालन राजेन्द्र रिजालको भनाइ छ । 

सञ्चार माध्यम लोकतन्त्रको आधारभूत संस्था हो । अहिले आर्थिक आधार कमजोर बन्दै जाँदा विशेष गरी मोफसलका सञ्चार माध्यम अस्तित्व जोगाउन सङ्घर्षमा रहेको स्थानीय बुद्धिजीवी दधिराम आचार्यको धारणा छ । विशेष गरी पहाडी तथा दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच सीमित रहेका स्थानमा एफएम रेडियो अझै पनि सबैभन्दा भरपर्दो सञ्चार माध्यम मानिन्छ । त्यस्ता रेडियो बन्द हुँदा स्थानीय तहका निर्णय, सरकारी सेवा, विपत्सम्बन्धी सूचना र नागरिक सरोकारका विषय समुदायसम्म पुग्न कठिन हुने कार्यपत्रमा उल्लेख छ । कार्यपत्र अनुसार कोशी प्रदेशमा हाल ३९७ वटा अनलाइन सञ्चारमाध्यम दर्ता भएका छन् । अनलाइन मिडियाको सङ्ख्या तीव्र गतिमा बढे पनि त्यसले एफएम रेडियो र पत्रपत्रिकाको आर्थिक सङ्कट समाधान गर्न नसकेको सम्मेलनमा निष्कर्ष निकालिएको छ । कार्यपत्र अनुसार कोशी प्रदेशमा हाल ९६ वटा नियमित पत्रपत्रिका प्रकाशित भइरहेका छन् । तीमध्ये १७ दैनिक, ७३ साप्ताहिक, चार मासिक, एक द्वैमासिक र एक त्रैमासिक प्रकाशन छन् । इलेक्ट्रोनिक मिडियातर्फ सात वटा टेलिभिजन सञ्चालनमा रहेका छन् भने दर्ता भएका १२९ एफएम रेडियोमध्ये ८५ वटा मात्र सञ्चालनमा छन् ।