रानी, असार २० गते । गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

नेपाल–भारत सीमा क्षेत्रको निरीक्षणका लागि शनिबार विराटनगर आइपुग्नुभएका गृहमन्त्री गुरुङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बजेट अभावका कारण निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसके पनि आवश्यक स्रोत व्यवस्थापन गरी प्रहरी भवन निर्माणलाई तीव्रता दिइने बताउनुभयो ।

उहाँले प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै जीर्ण भवनको समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम अघि बढाइएको जानकारी दिनुभयो ।

गृहमन्त्री गुरुङले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थलगत निरीक्षण आवश्यक रहेकाले कोशी प्रदेशका सीमावर्ती क्षेत्रको अनुगमनमा आएको बताउनुभयो । उहाँले सीमा क्षेत्रको सुरक्षा अवस्था, प्रहरी परिचालन, भौतिक पूर्वाधार तथा आवश्यक सुधारका विषयमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सीमा क्षेत्रमा देखिएका समस्या समाधान, सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने तथा प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने विषयमा गृह मन्त्रालय गम्भीरतापूर्वक लागिपरेको छ ।

गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।