मधेशमा लागुऔषधविरुद्ध प्रहरीको अभियान अन्तर्गत २० दिनमा ५८ जना पक्राउ
लक्ष्मी चौधरी
जनकपुरधाम, असार २० गते । मधेश प्रदेशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत २० दिनमा ५८ जना पक्राउ परेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार असार १ गतेदेखि २० गतेसम्मको अवधिमा उनीहरू पक्राउ परेका हुन् ।
अभियानका क्रममा सप्तरीबाट तीन जना, सिरहाबाट १५ जना, धनुषाबाट १० जना, महोत्तरीबाट नौ जना, सर्लाहीबाट तीन जना, रौतहटबाट दुई जना, बाराबाट पाँच जना र पर्साबाट ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूसँगै ठुलो परिमाणमा गाँजा, ब्राउन सुगर (खैरो हिरोइन) तथा विभिन्न प्रकारका लागुऔषधजन्य ट्याब्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका सबै व्यक्तिमाथि लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ । लागुऔषध नियन्त्रणका लागि विशेष अभियानलाई आगामी दिनमा अझ प्रभावकारी र सशक्त बनाइने मधेश प्रदेश प्रहरी कार्यालयले उल्लेख गरेको छ ।
