गृहमन्त्री सुदन गुरुङले गरे सुनसरीको अनुगमन र अधिकारीहरुसंग भेटभाट
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार २१ गते । गृहमन्त्री सुदन गुरुङले सुनसरीको विभिन्न स्थानमा सरकारी अधिकारीहरुको काम कार्वाहीका बारेमा अनुगमन तथा निरिक्षण गर्नुभएको छ । जिल्लाको इटहरी उपमहानगरपालिकामा आउनुभएको गृहमन्त्री गुरुङले सीमामा तस्करी नियन्त्रण, जिल्लामा शान्ति सुरक्षा र अमनचयनका बारेमा सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । सरकारले प्रवाह गरेको सेवाप्रति नागरिकको सन्तुष्टि, विभिन्न ठाउँको अनुगमन र निरिक्षणको क्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे सहित तीनवटै सुरक्षा निकायलाई सो निर्देशन दिनुभएको हो ।
सुनसरीका सुरक्षा अधिकारीले गृहमन्त्री गुरुङलाई जिल्लाको शान्ति सुरक्षाको अवस्था र सेवा प्रवाह बारेमा जानकारी गराउनुभएको थियोे । जिल्लामा अनुगमन, निरिक्षण र भेटघाटमा स्थानीय किसानले सिजनमा खादमलको अभाव भएको र केही आएपनि वडा अध्यक्ष सहितको जनप्रतिनिधिले आफ्नो नजिककालाई मात्रै दिएको र केही कालो बजारीमा बेचेको गुनासो सुनाउनुभएको थियो । किसानका गुनासो बारेमा गृहमन्त्री गुरुङले विगत देखिकै समस्या भएकोले विस्तारै समाधान गर्दै जाने बताउनुभयो । उहाँले इटहरीमा सडक लाइन होटलमा खाना खानुभएको विषय चर्चा छाएको थियो ।
त्यसैगरी जिल्लाको धरान उपमहानगरपालिकामा गृहमन्त्रीले शान्ति सुरक्षा र जनताको समस्या बारेमा जानकारी लिनुभएको छ । धरान निवासी गोमा तंमागले गृहमन्त्री समक्ष महिला हिसां र बलात्कारको घटनाका पीडितलाई न्याय र पीडकलाई कार्वाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले गृहमन्त्रीलाई बलात्कार सम्बन्धि कडा कानुन बनाउन समेत सुझाव दिनुभयो । धरानका अभिभावकले निजी विधालयको चर्काे शुल्क र शिक्षा ऐन नगरले जारी नगरेको विषयमा पनि ध्यानाकर्षण गराएका छन् । अभिभावकले धरानका निजी विद्यालयविरुद्धको अभियानबारे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । अभिभावक सहित सरोकारवालाले सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक पहलको माग गरेका छन् । त्यसैगरी विपी कोइराला स्वास्थ प्रतिष्ठानको विकास ,संरक्षण र स्तोरोन्नती गर्न समेत गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्री गुरुङले शिक्षा ,स्वास्थ्य ,सुरक्षा र नागरिकको हितमा काम गर्न आएकोले सबै काम क्रमस गर्दै जाने बताउनुभयो । उहाँले धरानको अवस्था र बेथितिका बारेमा आफू जानकार भएकोले विस्तारै समाधान गर्दै जाने बताउनुभयो । धरान र इटहरीमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लामा गरेको काम कार्वाही, प्रगति र लागू औषध विरुद्धको अभियानमा पाएको सफलताको बारेमा पनि जानकारी गराउनुभएको छ । गुरुगले नेपाल–भारत सीमा सुरक्षाको अवस्था, प्रहरीको भौतिक पूर्वाधार, प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको वस्तुस्थितिबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो ।

१, गृहमन्त्री सुदन गुरुङले सुनसरीको धरानमा अनुगमन तथा निरिक्षणको क्रममा भेटघाट गर्नुुहदै ।
