इटहरी उवासंघको अध्यक्षमा भण्डारी निर्वाचित
इनरुवा ,असार २९ गते । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित हुनुभएको छ । आइतबार राति सम्पन्न भएको मतगणना अनुसार भण्डारीले आफ्ना निकटतम प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक टङक दुलालले जानकारी दिनुभयो ।

भण्डारी उद्योग वाणिज्य संघ इटहरीको इतिहासमै पहिलो पटक महिला अध्यक्षको रुपमा निर्वाचित हुनुभएको छ । अन्तिम मतपरिणाम अनुसार भण्डारीले ७५८ मत प्राप्त गर्नुभएको छ भने काफ्लेले ७४३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी वाणिज्य सदस्य तर्फ जीवनकुमार न्यौपाने सर्वाधिक ९८९ मतसहित निर्वाचित हुनुभएको छ । त्यसैगरी सञ्जीव खड्का (९८४), बलराम बस्नेत (९६०), सिनेट रिजाल (९५९), सञ्जय शाह (९५७), बलबहादुर न्यौपाने (९४३), सन्नी चौधरी (९१५), दिनेशप्रसाद धमला (९०८) र महेश थापा (८८३) मत प्राप्त गर्दै निर्वाचित हुनुभयो ।
महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित हुनुभएको छ । उद्योग सदस्य तर्फ अभिषेक बस्नेत (१४४), शिवप्रसाद भट्टराई ‘भूपाल’ (१३४), हरिप्रसाद तिम्सिना (१२१) र किसनकुमार खेडिया (१०१) निर्वाचित हुनुभएका छन् । दुई हजार ३६९ मतदाता रहेकामा एक हजार ५४३ मत खसेको निर्वाचन समितिका संयोजक टङक दुलालले जानकारी दिनुभयो ।
