जयकृष्ण यादव । इनरुवा
इनरुवा ,असार ३० गते । सुनसरीको इनरुवा नगरपालिकाले किसानलाई मिनी टिलर वितरण गरेको छ । किसानलाई कृषि आन्त्रिकिकरण कार्यक्रम अन्तरगत १० वटै वडाका किसान, सहकारी र कृषि फर्म सञ्चालकलाई ५० प्रतिशत अनुदानमा ५० थान मिनी टिलर वितरण गरेको हो । खेतबारी जोत्नका लागि किसानले गोरु, राँगा पाल्न छाड्दै गएकाले खेतबारी बाँझो हुने अवस्था आउन नदिन नगरपालिकाले मिनी टिलर वितरण गरेको हो ।
कृषिलाई प्रविधिसँग जोड्न नगरपालिकाले ५० प्रतिशत अनुदानमा ५० थान मिनी टिलर वितरण गरेको नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । कृषि कर्ममा लागेकालाई व्यक्तिगत, समूहमा, फर्म र सहकारीमा आबद्ध भएकालाई वितरण गरेको जानकारी दिनुभयो । व्यक्तिगतमा एकल र समूह तथा सहकारीमा आबद्ध किसान सबैले मिनी टिलर आवश्यकता अनुसार पालैपालो प्रयोग गर्न सक्ने बताइएको छ । मिनी टिलरबाट नगरका सयभन्दा बढी किसान लाभान्वित हुने उहाँको भनाइ छ । उपप्रमुख विनिता कुमारी मेहताले गोरुले भन्दा मिनी टिलरले जोत्न सहज मात्र नभई छिटो हुने भएकाले यसको माग बढिरहेको बताउनुभयो ।


१, सुनसरीको इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले मिनी टिलर किसानलाई हस्तान्तरण गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा