जयकृष्ण यादव । इनरुवा
इनरुवा ,असार ३० गते । सुनसरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । सदरमुकाम इनरुवामा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख राजन मेहताले जिल्लाका १२४ वडा र १२ स्थनाीय तह जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो । सो कार्यक्रममा मेहताले जिल्ला संरचनालाई जनताको आवश्यकता पूरा गर्ने माध्यम बनाउन स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो । जिल्लालाई पूर्ण खोप सुनिश्चितता गर्न प्रत्येक वडामा खोज र खोप अभियान सञ्चालन गरिएको र यसक्रममा विगतमा नै भेटिएका बालबालिका जो कुनै पनि खोप नलगाएको भेटिएकोमा खोप ड्रपआउट गर्ने बालबालिका भेटिएको जानकारी दिइएको थियो, त्यसलाई ध्यानमा राखेर खोप लगाइएको थियो । बाल मृत्यु दर घटाउन सरकारले जन्मेदेखि १५ महिना सम्मका बालबालिकाहरूलाई १३ प्रकारका निःशुल्क खोप दिँदै आएको छ । जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय सुनसरीले जिल्ला समन्वय समितिमा आयोजना गरेको कार्यक्रममा समन्वय प्रमुख राजन मेहताले सुनसरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । मेहताले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको आधार तयार गरेको बताउनुभयो । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख मेहताले पूर्ण खोप सुनिश्चितता घोषणासँगै नियमित अनुगमन, जनचेतना अभिवृद्धि र सेवा विस्तार मार्फत यसको दिगोपना कायम राख्नुपर्ने बताउनुभयो । पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पु¥याउने दुई वटा उपमहानरपालिका, चार वटा नगरपालिका र ६ वटा गाउँपालिका, स्वास्थ्य कार्यालय, विभिन्न सरोकारवाला निकाय तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान समेत गरिएको थियो ।


१, जिल्ला खोप समन्वय समिति सुनसरीका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख राजन मेहताले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुहुदै ।