खोटाङमा दाजुभाइको झगडामा एक जनाको मृत्यु, दुई पक्राउ
राजकुमार भट्टराई
खोटाङ, असार ३१ गते । खोटाङमा तीन दाजुभाइबिच झगडा हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको साकेला गाउँपालिका–४, मात्तिम पाथ्रुङका एकै घरका तीन दाजुभाइबिच आपसी झगडा हुँदा घाइते हुनुभएका माइला भाइ ३५ वर्षीय ओइमानसिंह राईको मृत्यु भएको हो।
माइला भाइको हत्या आरोपमा ४८ वर्षीय जेठा दाजु इमानसिंह राई र ३० वर्षीय साइला भाइ जीवन राई (टीकाबहादुर)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
गएको असार २९ गते राति मादक पदार्थ सेवन गरी घरायसी विवादका कारण झगडा हुँदा धारिलो हतियार प्रहारबाट माइला भाइ ओइमानसिंह गम्भीर घाइते हुनुभएको थियो। टाउको र पेटमा चोट लागेका राईको उपचारका क्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नीराजन बस्नेतले जानकारी दिनुभयो।
राईलाई असार ३० गते राति २:२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। हत्यामा संलग्न जेठा दाजु र साइला भाइलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो।
प्रहरी निरीक्षक बस्नेतका अनुसार घरायसी विवादका कारण ती दाजुभाइबिच बेलाबेलामा झगडा भइरहने गरेको पाइएको छ। असार २९ गतेको झगडाले भने एक जनाको ज्यान नै लिएको छ। घटनामा संलग्न दुवै दाजुभाइलाई पक्राउ गरी हिरासतमा राखिएको छ। कसले र कुन धारिलो हतियार प्रहार गरेको थियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
