हुलाकी बहुभाषिक राष्ट्रिय कवि सम्मेलन–२०८३ भव्यताका साथ सिरहामा सम्पन्न भएको छ । हुलाकी सडक संघर्ष समिति, सिरहाको आयोजनामा सिरहाको बरियारपट्टी स्थित जनता माविमा हुलाकी बहुभाषिक राष्ट्रिय कवि सम्मेलन सम्पन्न भएको हो । साहित्य कार्यक्रममा बाकँ नेपालगञ्जकी कवि सहिदा साँ, भापाका केशव आचार्य, मोरगंका शिवनारायण पंडित सिंगल, खेम नेपाली, करिना केसरी, भरत बरर्बिक, सुनसरीका प्रा.डा. बद्रीविसाल पोखरेल, सुविद गुरागाई, जयकृष्ण यादव, विमला पोखरेल, झोटन मेहता, अस्मिता पराजुली, सक्षम यादव, सिराहाका जिवन उदासी सहितकाले कविता पाठ गर्नुभएको थियो ।


त्यसैगरी युवा विधार्थी कविहरु अजय यादव, बालमिकि यादव, गायित्री कुशवाहा, कसिना साह,अमृता साह सहितले पनि कविता पाठ गर्नुभएको थियो ।
देशको पश्चिम महाकालीदेखी पूर्वमेची झापासम्मका सय बढी साहित्यकार कविहरुले हुलाकी सडकको बेथीति र अवस्थाको चित्रण गर्दै कविता प्रस्तुत गरेको आयोजक हुलाकी सडक संघर्ष समिति, सिरहाका संयोजक रामरिझन यादवले जानकारी दिनुभयो । यादवका अनुसार
राणाकालदेखि नै निर्माणाधीन हुलाकी सडक तराई मधेशको मेरुदण्ड भएपनि सन्तोश जनक काम नभएकाले कविताको माध्यमबाट सरकारलाई दबाव सृजना गर्न कवि सम्मेलन गरेको हो । उहाँले हुलाकीमा पर्ने नदीहरु हाम्रा सेतु भएपछि दुर्भाग्यवश, झापाको कन्काईदेखि कञ्चनपुरसम्मकै हुलाकी सडक र पुलहरुको अवस्था दयनीय रहेको गुनासो गर्नुभएको छ । सिरहा र धनुषा जोड्ने कमला पुल वर्र्षौै भइसक्दा पनि बनेको छैन । गलत डिजाइन र प्राविधिक कमजोरीका कारण नबन्दा विगत १० वर्षदेखि हामी निरन्तर आन्दोलित रहेको जानकारी दिनुभयो । यस्तै नियति झापाको कन्काई, सर्लाही–रौतहट जोड्ने बागमती र चितवन–परासी जोड्ने नारायणी नदीका पुलहरुले पनि भोगिरहेका छन् । सिरहा खण्डकै सहजा खोलाको पुल ५ वर्षदेखि अलपत्र हुँदा डाइभर्सनमा परेर ६ जनाभन्दा बढीले अनाहकमा ज्यान गुमाइसकेका छन् । अरबौंको लगानीमा बनेको सडक संरक्षण र ट्राफिक व्यवस्थापनको अभावमा दुर्घट्नाको अखडा बनेको छ । उहाँले भन्नुभयो, “ यहाँ लाग्छ, हुलाकी सडकको कोही अभिभावक नै छैन कि ?, यही संवेदनशीलता, दुःख र दुर्दशालाई सिर्जनाका माध्यमबाट उजागर गर्न सिरहाको बरियारपट्टीमा हुलाकी बहुभाषिक राष्ट्रिय कवि सम्मेलन सम्पन्न’ गरिएको छ । ” कवि सम्मेलनमा हुलाकी सडकले छुने तराई–मधेशका २० वटै जिल्लाका कविहरुको गरिमामय उपस्थिती रहेको थियो । देशका अन्य जिल्लाका बरिष्ठ र अग्रज कविहरुको सहभागितामा सम्पन्न भएको सम्मेलनमा हुलाकी मार्गका बाटोहरु निर्माण दु्रत गतिमा गर्नुपर्ने, बजेटको व्यवस्था गर्नुपर्ने , हुलाकीमा पर्ने नदी, खोलाहरु पुल निर्माणका लागि सरकारले ध्यान दिनुपर्ने सवाल उठान गरेको थियो ।

कार्यक्रममा सिरहा जिल्लाका केही माध्यमिक विद्यालय तथा क्याम्पसहरुका युवा विधार्थी कविहरुले कविता पाठ गर्नुभएको थियो । सहभागी कविहरुलाई सम्मान पत्र तथा दोसला ओढाई स्वागत तथा सम्मान गरिएको थियो ।


सम्पन्न भएको हुलाकी सडक तथा पुलको दुर्दशा र अवस्था विषयक कवि सम्मेलनमा पूर्ण भाषिक स्वतन्त्रता रहेकाले कविहरुले नेपाली, मैथली, भोजपुरी, हिन्दी, उर्जु सहित आठ भाषमा कविता पाठ गर्नुभएको थियो ।

हुलाकी सडकको भविष्य र नागरिकको पीडालाई शब्दमार्फत अभिव्यक्त गर्ने यस महाभियानमा सक्रिय सहभागि भएकालाई संयोजक यादवले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।