देवराज यादव / सुनसरी
इनरुवा ,साउन ३ गते । पूर्वी पहाडी जिल्ला र सुनसरीको उतरी क्षेत्रमा लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च हुदै गएको छ । सुनसरी र सप्तरीसँग जोडिएको सप्तकोशी नदी (कोशी ब्यारेज) मा पानीको बहाव तीव्र गतिमा बढिरहेकाले यो वर्षको सबै भन्दा बढी पानीको मापन गरिएको कोशी व्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशी ब्यारेजमा आइतबार साझ ५ बजे गरिएको मापन अनुसार पानीको बहाव दुई लाख नौं हजार ८४० क्युसेक प्रतिसेकेण्ड रहेको छ । पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवे सहितको सुरक्षाकर्मीहरु कोशी व्यारेज पुगेर हाल नदीको अवस्था खतरा तहमा पुगेकाले सचेत रहन सबैको अपिल गर्नुभएको छ । बढ्दो बहावलाई व्यवस्थापन गर्न कोशी ब्यारेजका २८ वटा ढोका खुला राखिएको जनाएको छ । नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा अनावश्यक रूपमा नदी किनार र तल्लो तटीय क्षेत्रमा नजान आग्रह समेत गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो ।


१, सुनसरी र सप्तरीसँग जोडिएको सप्तकोशी नदी (कोशी ब्यारेज) मा बहाव तीव्र गतिमा बढेको पानीको अवस्था ।
तस्बिर देवराज यादव सुनसरी