सुकुना माविमा विद्यार्थीलाई अश्लील म्यासेज पठाउने शिक्षक पक्राउ, ३ जना निलम्बनमा
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अश्लील म्यासेज पठाएको आरोप लागेका शिक्षक पक्राउ परेका छन् भने घटनासँग जोडिएका तीन जना शिक्षक तथा कर्मचारीलाई विद्यालयले निलम्बन गरेको छ।
घटनापछि प्रहरी प्रशासनले अनुसन्धान तीव्र बनाएको छ भने विद्यालयले पनि प्रशासनिक कारबाही अघि बढाएको जनाएको छ।
इलाका प्रहरी कार्यालय बेलबारी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले विद्यालयका लेखा अधिकृत तथा शिक्षक अबिरल मास्केलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरीका अनुसार घटनासँग सम्बन्धित विद्यालयका बस चालक प्रदीप भट्टराईलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा दोषी देखिने जोसुकैमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रहरीले जनाएको छ।
घटनापछि बसेको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले अनुसन्धान प्रक्रियालाई सहज बनाउन आरोपित शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गर्ने निर्णय गरेको छ।
विद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार शिक्षक तथा लेखा अधिकृत अबिरल मास्के, सङ्गीत प्रशिक्षक भीमप्रसाद नेपाल र बस चालक प्रदीप भट्टराईलाई कानुनी प्रक्रिया टुंगो नलागेसम्मका लागि निलम्बन गरिएको हो।
विद्यालयले शिक्षक तथा कर्मचारीको आचरणसम्बन्धी विषय गम्भीर र खेदजनक रहेको उल्लेख गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पत्राचार गरिसकेको जनाएको छ। विद्यालयले अन्य आरोपित शिक्षक तथा कर्मचारीको विषयमा पनि विद्यालय व्यवस्थापन समितिले थप छानबिन गरी आवश्यक कारबाही गर्ने जानकारी दिएको छ।
यस घटनापछि विद्यालय परिसरमा विद्यार्थी र अभिभावकको चासो बढेको छ। कानुन विद्यार्थी समाज, सुकुना माध्यमिक विद्यालयले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विद्यार्थीमाथि अमर्यादित व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको उल्लेख गरेको छ।
समाजले कानुनी प्रक्रिया सुरु भइसकेकाले थप आन्दोलन वा भिडभाड नगरी अनुसन्धानमा सहयोग गर्न विद्यार्थीहरूसँग आग्रह गरेको छ।
यता, नगर बाल सञ्जाल, सुन्दरहरैँचाले पनि घटनालाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिई आवश्यक प्रशासनिक तथा व्यवस्थापकीय प्रक्रिया अघि बढाइसकेको जनाएको छ।
सञ्जालले निष्पक्ष छानबिनका लागि समिति गठन भई अध्ययन तथा अनुसन्धान भइरहेको उल्लेख गर्दै अपुष्ट, भ्रामक वा अतिरञ्जित सूचनामा विश्वास नगरी आधिकारिक जानकारीको प्रतीक्षा गर्न सबै सरोकारवालासँग अनुरोध गरेको छ।
प्रहरीले घटनाका सबै पक्षको निष्पक्ष अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धान सम्पन्न भएपछि थप तथ्य सार्वजनिक गरिने र कानुनविपरीत कार्यमा संलग्न देखिने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीको भनाइ छ।
