काठमाडौँ, साउन ६ गते । कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७५/७६ मा बेल्केढुङ्गा लेखनवाडा कार्यालय दुर्सी फागोटी सडक निर्माणको लागि ४० लाख रुपियाँ बजेट विनियोजन भइ लागत अनुमान स्वीकृत गरी सडक निर्माण उपभोक्ता समिति र पलाँता गाउँपालिकाबिच सम्झौता भइ योजना कार्यान्वयन भएको देखिएको छ । 

उक्त योजनाको नापी किताब कार्य सम्पन्न प्रतिवेदन अनुसार ग्याविन जालीसहित ढुङ्गा भर्ने कार्य १२ सय घनमिटर बराबर भएको भनी गाउँपालिकामार्फत उपभोक्ता समितिलाई ३८ लाख रुपियाँ भुक्तानी गरेको देखिएता पनि आयोगबाट खटि गएको प्राविधिकसमेतको टोलीले स्थलगत नापजाँच गर्दा ९३९.५० घनमिटर मात्र ग्याविन जालीसहित ढुङ्गा भर्ने निर्माण कार्य भएको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

फिल्डमा २६०.५० घनमिटर कम काम भएको देखिएको तथा राष्ट्रसेवक कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारी समेतले आफूहरुलाई गैरकानुनी रुपमा लाभ लिने बदनियतले एकआपसको मिलेमतोमा वास्तविक रुपमा फिल्डमा भएको कार्यभन्दा बढी देखाइ झुट्टा बिल, भरपाइ बनाइ आठ लाख आठ हजार ६८० रुपियाँ बढी भुक्तानी लिने, दिने कार्य गरेको आयोगले जनाएको छ ।

उक्त कार्यमा सो गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बम, तत्कालीन लेखा प्रमुख खिमलाल पुन, तत्कालीन सहायक लेखापाल मुनी प्रसाद प्याकुरेल, तत्कालीन सव–इन्जिनियरद्वय विनोद कुमार बम र नन्द बहादुर सिंह, वडा नंं. ९ का अध्यक्ष टक्क बहादुर बम, दुर्सी फागोटी ग्रामीण सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भ बहादुर बम, कोषाध्यक्ष सुलक्षिना बम र सचिव कमल बहादुर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइ बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।