२६ ग्राम ब्राउन सुगर सहित चार पक्राउ
जयकृष्ण यादव । इनरुवाइनरुवा, साउन ८ गते । सुनसरीमा २६ ग्राम ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सदरमुकाम ईनरुवा नगरपालिका वडा नं.–४ बसपार्क स्थित पुर्व पश्चिम राजमार्गमा दुई पटक गरेर चार जानालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी र अस्थायी प्रहरी पोष्टको संयुक्त टोलीले महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को. ३८ प. २३८९ नम्बरको स्कुटर चालक धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.–९ का २३ वर्षीय उज्वल मादेन र पछाडी सवार भोजपुरको हतुवागढी गाउँपालिका वडा नं.–५ का ३२ वर्षीय रोशन राईलाई २.८९ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । राजमार्गमा चेकजाँच गर्दा मादेन र राईको साथबाट लागू औषध ब्राउन सुगर २.८९ ग्राम फेला परेकोले उनीहरुलाई लागू औषध र स्कुटर सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी उपरीक्षक केशव कुमार थेवेले जानकारी दिनुभयो ।
त्यसैगरी दोस्रो लटमा ईनरुवा नगरपालिका वडा नं.–४ बाटै पैदल यात्री मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं.–१० का २७ वर्षीय राजन उराँव र उर्लाबारी नगरपालिका वडा नं.–४ का ३४ वर्षीय प्रकाश उराँवलाई २२.४५ ग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको जनाएको छ । उराँवदोयलाई लागू औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको थेवेले जानकारी दिनुभयो । एकैदिन झण्डै २६ ग्राम ब्राउन सुगर फेला परेको ठूलो मध्येको एक भएको प्रहरीको कथन छ ।
