सुनसरी जिल्ला अदालतमा ६० दशमलव ६९ प्रतिशत मात्रै मुद्धा फछ्र्योट
जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन ८ गते । सुनसरी जिल्ला अदालतमा आर्थिक वर्ष २०८२÷०८३ मा परेको मध्ये ६० दशमलव ६९ प्रतिशत मुद्धा फछ्र्योट भएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा एक वर्षभरी विभिन्न प्रकृतिका नौं हजार ५५२ मुद्दा दर्ता भएकोमा पाँच हजार ७९८ मुद्दा फछ्र्योट भएको हो । जेन्जी आन्दोलन र निर्वाचनका कारणले फछौंएट कम भएकाले तीन हजार ७५४ मुद्दा अझै विचाराधीन छन् । अदालतले कुल मुद्दामध्ये ६० दशमलव ६९ प्रतिशत फछ्र्योट गरेको जनाएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश प्रकाश राउतका अनुसार आएका मुद्धा मध्ये सबै भन्दा बढी सम्बन्ध विच्छेदका एक हजार २४१ मुद्दा रहेको छ ।

सम्बन्ध विच्छेद मुद्धा मध्ये ९३६ वटा फछ्र्योट भएका छन् भने ३०५ मुद्दा विचाराधीन छन् । अदालतका अनुसार सम्बन्ध विच्छेद पछि दोस्रो स्थानमा अंशसम्बन्धी ९४२ मुद्दा दर्ता भएकोमा ४०७ वटा फछ्र्योट भएका छन् भने ५३५ मुद्दा बाँकी छन् । मानाचामलसम्बन्धी ८४ मुद्दामध्ये ३१ फछ्र्योट हुँदा ५३ मुद्दा विचाराधीन छन् । सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा सबैभन्दा बढी दर्ता भएको पाइएको छ । त्यसैगरी जग्गा खिचोलासम्बन्धी ३५४ मुद्दामध्ये ६९ वटा फछ्र्योट भएका छन् भने २ सय ८५ मुद्दा अझै विचाराधीन छन् । कर्तव्य ज्यानसम्बन्धी ८५ मुद्दामध्ये ३२ वटा टुंगिएको र ५३ मुद्दा विचाराधीन रहेको अदालतले जनाएको छ । बालबालिकासम्बन्धी ३०२ मुद्दामध्ये १९६ फछ्र्योट भएका छन् भने १०६ मुद्दा बाँकी छन् । यस्तै, लागूऔषध सम्बन्धी ७८५ मुद्दा दर्ता भएकोमा ३७९ मुद्दा फछ्र्योट हुँदा ४०६ मुद्दा अझै विचाराधीन छन् । अन्य विभिन्न प्रकृतिका पाँच हजार ६३८ मुद्दामध्ये तीन हजार ७०० मुद्दा फछ्र्योट भएका छन् भने एक हजार ९३८ मुद्दा चालु अवस्थामा रहेका छन् । अदालतको तथ्यांकले सम्बन्ध विच्छेद, लागूऔषध तथा जग्गा विवादसम्बन्धी मुद्दाको चाप उच्च रहेको देखाएको छ । नयाँ मुद्दाको संख्या निरन्तर बढिरहेकाले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन र व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको अदालतको निष्कर्ष छ ।
